काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरूका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ ।
सहरी योजना आयोगको सभा कक्षमा भएको छलफलमा यस वर्षका कार्यक्रम सञ्चालन गर्न विगत वर्षका क्रियाकलाप र खर्च समीक्षा गरिएको थियो । बैठक यस वर्षका क्रियाकलापलाई स्वचालित बनाउने, गुठियार तथा साझेदारहरूलाई प्रोत्साहित गर्ने, श्रद्धालु र जात्रा अवलोकनका लागि आउनेहरूको अवलोकन सहज बनाउने विषयमा केन्द्रित थियो ।
गएका बर्सहरूमा जात्रा सञ्चालनका लागि प्रदान गर्नु पर्ने रकम समयमा प्राप्त हुन नसकेकोले कार्य सञ्चालन कठिन भएको व्यवस्थापन समितिका पदाधिकारीले गुनासो गरेपछि समितिका संयोजक आशामान सङ्गतले, खर्च नभएका कारण जात्राका क्रियाकलाप नरोकिने बताए । ‘खर्च नभएकै कारण यस अघि रोकिएका क्रियाकलापलाई हामी पुनः स्थापना गर्दछौँ ।
राष्ट्रिय पर्वका क्रियाकलाप रोकिन दिन त कुरै आउँदैन ।’ उनले थप गर्दै भने, ‘कुरा यत्ति हो । सार्वजनिक कोषबाट हुने खर्च प्रचलित कानुनले निर्दिष्ट गरेको व्यवस्थाबमोजिम हुन्छ ।’ आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने हरेक जात्रा र पर्वको महानगरपालिकाले अभिभावकत्व लिने संयोजक सङ्गतको भनाइ थियो ।
बैठकबाट जात्रा सञ्चालनका लागि उत्साहित भएका छौँ । व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यले भने, ‘महानगरपालिका र व्यवस्थापन समिति एकै ठाउँमा भएर जात्रा सञ्चालन गर्दछौँ । यसबाट व्यवस्थापनमा सहजता आउनेछ ।’
बैठकमा जात्रा सञ्चालन कोषमा रकम उपलब्ध गराउने, गुठियारहरूलाई परेका समस्याको सुनुवाइ गरेर सहजीकरण गर्नेलगायत विषयमा कुराकानी भएको थियो । समितिका उपाध्यक्ष दीपकप्रसाद श्रेष्ठले भने, ‘समयमा निर्णय गर्न पाए जात्राका क्रियाकलापको तयारीलाई व्यवस्थित गराउन सकिन्छ । हतारमा हुने काममा केही न केही छुट्छ नै ।’
यस वर्षका लागि इन्द्रजात्राको साइत आइसकेको छ । यसअनुसार भोलि बिहान १० बजेर ४७ मिनेटको साइतमा हनुमान ढोकाबाट वनयात्रा सुरु हुन्छ । बेलुका ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन हुन्छ ।
२६ गते बुधवार बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइन्छ । भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ ।
असोज १ गते मङ्गलवार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिवार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।
प्रतिक्रिया