समानताको पक्षमा निर्माण भएका नीति कार्यान्वयन गर्न माग

विहीबार, २० भदौ २०८१
इलाम / महिलाको पक्षमा निर्माण भएका नीति कार्यान्वयनको पक्षमा इलामका स्थानीयले आवाज उठाएका छन् । कतिपय अवस्थामा पाएको अधिकार कार्यान्वयन नभएको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका हुन् । सामुदायिक सुरक्षा जालो इलाम नगरपालिका ९ ले भन्ज्याङमा पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले सहायक पदमा मात्र महिलालाई सीमित गराउनु नहुने भन्दै प्रमुख पदमा नै महिलाको समान हक भएको बताएका थिए ।   समानताको पक्षमा वकालत गर्दै आएको टेवा नेपालको सहयोगमा सम्पन्न महिला आन्दोलनको सुदृढीकरण अन्तर्गत सार्वजनिक सुनुवाइमा स्थानीयले लैङिगक हक र समानता पक्षमा नीति निर्माण भए पनि कार्यान्वयन नभएको भन्दै दुख व्यक्त गरेका थिए ।   स्थानीयले विकास निर्माणसँग जोडेर समेत प्रश्न गरेका थिए । नगरपालिका र वडाले गरेका कतिपय कामहरूमा स्थानीयले सुझाव समेत दिएका थिए । स्थानीय तथा इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्वाङ, महेन्द्र चौहान, राजेन्द्र चौहान, कुमार मैनाली, गोमा निरौला, देवी गौतम, मिना पराजुली, अर्जुन बस्नेत, लक्ष्मी चौहान लगायतले प्रश्न गरेका थिए ।   उनीहरूले उठाएको जिज्ञासा माथि इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी दाहाल, नौ नम्बर वडाका अध्यक्ष गोपाल चौहान, नगरपालिकाका सूचना अधिकारी बवुल भक्तराज, सुरक्षा जालोकी संयोजक दिपा आचार्य लगायतले सम्बोधन गरेका थिए । सुरक्षा जालोले स्थानीय भन्ज्याङ महिला समूहसँग मिलेर दुई दिने व्यवसाय प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण समेत गरेको थियो । महिलाहरूलाई स्वरोजगार बन्न प्रेरित गर्न सो अभिमुखीकरण गरिएको अध्यक्ष मिना पराजुलीले बताइन् । अभिमुखीकरणमा करिब तीस जनाको सहभागिता रहेको थियो । अनुपम अभियान अन्तर्गत महिलाहरूले भन्ज्याङमा जनचेतना मूलक गीत सहित रयाली समेत गरेका थिए ।   समानताको पक्षमा निर्माण भएका नीति कार्यान्वयन गर्न माग कार्यक्रममा टेवा नेपालकी कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठ र टिम लिडर रुपा उदासको समेत उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार