इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)ले वीपी सप्ताह कार्यक्रमको सोमबार समापन गरेको छ ।
वीपी कोइरालाको १११ र्औँ जन्मजयन्तीको अवसर पारेर इटहरीस्थित श्री कृष्ण प्रणामी मन्दिरमा ‘वीपी साहित्य सन्ध्या’ कार्यक्रमको आयोजना गर्दै सप्ताहको समापन गरिएको हो ।
कार्यक्रको पहिलो चरणमा कविहरूले कविता वाचन गरेका थिए भने दोस्रो चरणमा ‘वीपी बोध’ शीर्षकमा बहस कार्यक्रम आयोजना भएको थियो ।
पहिलो चरणअन्तर्गत कवि बद्री भिखारी, देवान किराती, सीमा आभास र हेमन यात्रीले दुई–दुई वटा कविता वाचन गरे ।
भिखारीले ‘जस्तो–जस्तो’ र ‘नागरिकता,’ किरातीले ‘मन्दिर र चिहान’ र ‘भोक,’ आभासले ‘ऊ ईश्वर फुटाइरहन्छे’ र ‘चिडियाखानाको सिंह’ र हेमन यात्रीले ‘फेरि एक्लै’ र ‘आमाको गीत दुई’ शीर्षकको कविता वाचन गरे । उक्त कार्यक्रमलाई पत्रकार विवेश विवश रेग्मीले सहजीकरण गरे ।
दोस्रो चरणको कार्यक्रममा ‘वीपी बोध’ शीर्षकबारे प्रसिद्ध कवि मनु मञ्जिल र नाट्यकर्मी तथा कवि प्रज्वल पराजुलीले बहस गरेका थिए । मञ्जिलले वीपीको व्यक्तित्व, राजनीतिक उचाई र साहित्यको योगदानबारे चर्चा गरे ।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले सटिक टिप्पणी राख्दै यस्ता कार्यक्रमले समाजसँग पार्टीलाई जोड्ने तर्क राखे । उनले भने, ‘यो फरक कार्यक्रम भएकाले पार्टीले समाजलाई जोड्ने र आम मानिसलाई प्रभावित पार्ने कार्यक्रम गरेको छ । मैले पनि धेरै वर्षपछि कविता सुन्दा मन्त्रमुग्ध बनेँ ।’
कार्यक्रममा आयोजक कमिटिका सभापति सुबेक्छु देवानले सप्ताह कार्यक्रम गत वर्ष पनि आयोजना गरिएको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको बताए । उनले सप्ताहको पहिलो कार्यक्रम रामधुनीमा वृक्षारोपण, दोस्रो कार्यक्रम ‘कंग्रेस रन–२०८१’ र सप्ताह कार्यक्रम ‘वीपी साहित्य सन्ध्या’ आयोजना गरिएको बताए ।
‘राजनीतिमा लाग्नेहरूले वीपीको राजनीतिक कारण मात्रै खोज्ने होइन, साहित्य पनि पढ्नुपर्छ भन्ने प्रेरित गर्न पनि यो कार्यक्रम आयोजना गरिएको हो,’ देवानले भने, ‘वीपीलाई हामीले एक जुनीमा बाँचेर सकिन्न, वीपीलाई आम मानिसले पढ्ने मात्रै होइन, बाँच्नुपर्छ ।’
सोमबारको कार्यक्रम प्रदीप केसीको संयोजकत्वमा सम्पन्न भएको थियो भने एक सय ११ वटा दीप प्रज्वलन गरी वीपीलाई स्मरणसमेत गरिएको सचिव चिन्तामणी सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया