१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस

सोमबार, १४ असोज २०८१
बागलुङ : बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आज जिल्ला अदालत बागलुङमा पेस गरिएको छ । १६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । नेपालीलाई काठमाडौँबाट आइतबार बागलुङ ल्याइएको हो । उहाँलाई म्याद थप गरी आजै बयान लिइने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो । चिलवालका अनुसार उहाँलाई आज जिल्ला अदालत बागलुङ पेस गरिएको छ । नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उहाँलाई नेपाल ल्याइएको हो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालक विरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्षको जेठमै उजुरी दिएका थिए । देवकुमार बागलुङ आएसँगै बचतकर्ताले रकम फिर्ता पाउने आशा गरेका छन् । नगरप्रमुख नेपालीले बागलुङ र पोखराका गरी दुई अर्ब ५० करोड बढी बचत रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार