विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीका नैनसिंह गुरुङको घरमा सोमबार बिहानका राति आगलागी भएको छ ।
प्रहरीका अनुसार गुरुङको घरको सटर भाडामा लिएर उर्लाबारी–८ का दयाराम न्यौपानेले संचालन गर्दै आएको सुनचाँदी पसलबाट मध्यराति १२ः३० बजेतिर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगोले सुनचाँदी पसलमा १० लाख बराबरको क्षति गरेको छ भने पसलभित्र राखिएको १ लाख नगद जलेको प्रहरीको भनाइ छ ।
आगलागीबाट घरमा आशिंक रूपमा क्षति पुगेको छ । करिब ७ लाखको क्षति पुगेको प्रहरीको भनाइ छ । सटर भाडामा लिएर श्याम न्यौपानेले चलाउँदै आएको न्यौपाने पुस्तक पसलमा ७ लाख बराबरको क्षति भएको र नगद ५ हजार जलेको जानकारी प्रहरीले दिएको छ ।
अनिता तिमल्सिनाले संचालन गर्दै आएको युना गिफ्ट फेन्सी पसलमा २ लाख बराबरको क्षति भएको उर्लाबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट २७ लाख बढीको क्षति पुगेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न स्थानबाट पुगेका दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया