काठमाडौं–नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन फरक पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै बरु आआफ्नै पार्टी राम्रो बनाउनतिर लाग्न सुझाव दिएका छन् ।विशेषगरी व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा दानको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले नेकपा एमालेलाई कस्तो बनाउने ? जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने बारेमा एमालेलाई राम्रो हेक्का रहेको उल्लेख गरेका हुन् ।उनले भनेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आआफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ! नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले)लाई राम्ररी थाह छ ।’महासचिव पोखरेलले एमाले ‘समृद्ध नेपाल सुखी नेपाली’ काे नारासहित जनताको आकाङ्क्षा पूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको बताएका छन् ।उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभइ आवधिक निर्वाचनले गर्ने भएकाले त्यसका लागि एमाले हरदम तयार रहेको स्पष्ट पारेका छन् ।जनस्तरका सुझाव ग्रहण गर्नका लागि एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट–चिवाभञ्ज्याङ यात्रा गरेको स्मरण गराउँदै भविष्यमा पनि जनस्तरमा पुग्ने योजना रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया