खाँदबारी । संखुवासभाको मादी नगरपालिका–८ स्थित एउटा घरमा आगजनी गरिएको घटनाको अनुसन्धान अघि बढाउँदा ४ वर्षअघि भएको हत्याको पोल खुलेको छ ।
मादी–८ का राजकुमार तामाङको घरमा गत असोज १९ गते राति १२ बजेतिर आगजानी भएको थियो । अनुुसन्धान अघि बढाएर प्रहरीले घटनामा संलग्नको खोजी गर्ने क्रममा स्थानीय २८ वर्षीय दिनेश मोक्तान पक्राउ परेका थिए ।
दिनेशको बयानका आधारमा आगजानीमा संलग्न अर्का व्यक्ति मादी–८ दलिनीकै ठूले भाइ भनिने २७ वर्षीय राजकुमार तामाङलाई समेत पक्राउ गरिएको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार आगजनी गरिएको घरधनी राजकुमार र घटनामा संलग्न भनिएका राजकुमार अलग–अलग व्यक्तिहरु हुन् ।
‘ठूले भाइ भनिने राजकुमार र दिनेश मिलेर घरमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बस्नेत भन्छन्, ‘त्यो घटनाको अनुसन्धान अघि बढाउँदा ४ वर्षअघि भएको हत्याको घटनामा पनि राजकुमारको संलग्नता रहेको पाइएको छ ।’ उनका अनुसार पक्राउ परेकामध्ये राजकुमारलाई कर्तव्य ज्यान र आपराधिक उपद्रव तथा दिनेशविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।
घटना अनुुसार २०७७ माघ १७ गते दिउँसो मादी–८ भेडी चोकस्थित धोरोरो धारानजिकै १ जना पुरुषको शव फेला परेको थियो । मादी–९ फाबिङ घर भइ मादी–८ भेडी चोक बस्ने ५२ वर्षीय कान बुच्चे भनिने रत्नबहादुर प्रधान मृत फेला परेका थिए ।
निधारमा गहिरो चोट लागेको शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढायो । रत्नबहादुरको हत्या भएको निष्कर्षमा प्रहरी पुग्यो ।
अनुसन्धानबाट पनि उनको हत्या नै भएको पत्ता लाग्यो । तर, शंकास्पद व्यक्तिहरुमाथि सोधपुछ तथा निगरानी गरिरहेको प्रहरीले हत्यामा संलग्न पत्ता लगाउन सकिरहेको थिएन ।
आगजनीको घटनामा पक्राउ परेका राजकुमारले रत्नबहादुरको हत्या आफूबाटै भएको स्वीकार गरेको डीएसपी बस्नेतले बताए । उनका अनुसार राजकुमारले रत्नबहादुरबाट एक सय रूपैयाँ सापटी लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सापटी लिएको रकम फिर्ता माग्ने क्रममा बढेको विवाद हत्यामा पुगेर टुंगिएको उनको भनाइ छ । ‘विवाद बढ्दै गएपछि डिलमाथि उभिइरहेका रत्नबहादुरलाई राजकुमारले पछाडिबाट लात्तीले हिर्काएछन् । डिलबाट झरेका रत्नबहादुरको टाउकाको भाग धारानजिकैको ढुंगामा बज्रिएछ,’ डीएसपी बस्नेत भन्छन्, ‘धारिलो ढुंगामा बजारिएपछि चोट लागेर रक्ताम्य भएछन् । त्यहाँबाट खोल्सातिर लडेका रत्नबहादुरको त्यही चोटका कारण मृत्यु भएको पत्ता लागेको छ ।’
वरदातपश्चात राजकुमार धर्मदेवी नगरपालिका–१ स्थित ससुराली गाउँमा गएर लुकिछिपी बसेको जानकारी उनले दिए । ‘केही दिनअघि गाउँमा आएर एउटा घरमा आगजनी गरेछन्,’ डीएसपी बस्नेतले भन्छन्, ‘पक्राउ गरेर अनुसन्धान सुरु गर्दा राजकुमारले नै ४ वर्षअघि रत्नबहादुरको हत्या गरेको पत्ता लागेको हो ।’
प्रतिक्रिया