धरानमा सहकारी ठगी :‘क्यान्सर लागेपछि पैसा झिक्न जाँदा संस्थामा इन्ट्री नै छैन भनियो’

सोमबार, १२ कार्तिक २०८१
निशा राई धरान : बिरामी हुँदा वा समस्या पर्दा सहज होस् भनेर सहकारीमा बचत गरेको रकम नपाएपछि बेलाबेला भौँतारिन्छन्, धरान ५ का का गोढबहादुर राई । धरान १२ मा रहेको प्रकृति बचत तथा ऋण सहकारी संस्थामा पाँच लाख रकम जम्मा गरेको तर अहिले क्यान्सर रोगबाट ग्रसित भएपनि पैसा फिर्ता नभएपछि उनी भौँतारिरहेका हुन् । उनले २०७६ सालतिर उक्त सहकारीमा संस्थाका तत्कालीन व्यवस्थापक खगेन्द्र कोइरालाको आग्रहमा सहकारीमा पैसा राखेका थिए । ‘रकम राख्दा तीन–तीन महिनामा राम्रो ब्याज सहकारीले दिन्छ भनेर लोभ देखाइयो । ‘दुख, बिमार र भर अभर हुँदा पनि निकाल्न सकिन्छ भनेपछि रकम राखेको थिएँ,’ राईले भने, ‘घर मर्मत गर्ने क्रममा दुई लाख निकाले पनि अरू तीन लाख सहकारीमै थियो । तर, अहिले त्यो पैसा फिर्ता नै भएन ।’ दुःख र आपतको बेला चाहिन्छ भनेर राखेको पैसा आज क्यान्सर रोगसँग लडिरहेको अवस्थामा समेत पाउन नसक्दा प्रताडित बनेको राईले सुनाए ।

‘अचानक संस्थाका व्यवस्थापक कोइराला बेपत्ता भएको भनेर सुनेपछि सहकारीको कार्यालयमा जाँदा उनले धेरै जनाको पैसा लिएर फरार रहेको भन्ने थाहा पाएँ,’ उनले भने, ‘अर्को कुरा त मेरो पैसा त अफिसमा इन्ट्री नै भएको छैन रहेछ । क्यान्सर लागेपछि रकम झिक्न जाँदा सहकारी कार्यालयले यहाँ तपाईँको इन्ट्री नै छैन भनेर जानकारी दियो, म त छाँगाबाट खसेजस्तै भएँ ।’

उनले सहकारीमा बचत गरेको रकमले उपचारमा भरथेग हुने भएपनि अहिले साँवासमेत नपाउँदा समस्या थप बढ्दै गएको बताए । कोइरालाको परिवारमा सम्पर्क गरेपनि परिवारसँग सम्पर्क नै नभएको बताइएको उनले जनाए । उनले आफूजस्तै अन्य पीडितहरूसहित धरान उपमहानगरपालिकामा उजुरी दिएपनि हालसम्म सुनुवाइ नभएको बताए । ‘एकातिर क्यान्सर रोग, अर्कोतिर ऋण र एकातिर आफूले पाउने पैसा पनि यसरी खाइदिएकोले साह्रै पीडामा छु,’ उनको दुखेसो छ । व्यवस्थापक कोइरालाको परिवारले जग्गा बेचेर रकम फिर्ता गर्ने सहकारीमार्फत थाहा भएपनि हालसम्म पैसा फिर्ता नगरेको उनको भनाइ छ । सहकारीमा पैसा जम्मा गरिदिन्छु भनेर लगेको पैसा सहकारीमै जम्मा नहुनुले कोइरालाको नियतमाथि नै प्रश्न उठेको उनी बताउँछन् । राई एक प्रतिनिधि पात्र मात्र हुन् । राईसहित दर्जनौँ पीडितहरूले अहिले आफ्नो बचतको रकम फिर्ता पाउनुपर्ने माग गरिरहेका छन् । धरानबाहेक मोरङको उर्लाबारी, केराबारी, झापाको बिर्तामोड लगायत विभिन्न ठाउँहरूका बचतकर्ताहरू पीडित बनेका छन् ।  कोइरालाले करिब दुई करोड रुपैयाँ हिनामिना गरी फरार भएको पीडितहरूले बताएका छन् । बचतकर्ताहरूले राखेको पैसाको समयावधि पुगेका बजार प्रतिनिधि तथा बचतकर्ताहरूको बचत फिर्ता गर्न नसक्दा आफूहरू समस्यामा परेको रेल्वे लाइन घर भएकी एक बचतकर्ताले बताइन् । आफूले राखेको ७ लाख बढी रकम सहकारीले फिर्ता नदिएको उनले सुनाइन् । व्यवस्थापक कोइराला फरार भएपछि संस्थाले आफ्नो कार्यालय रहेको भवनसमेत बिक्री गरेर केही बचतकर्ताहरूको रकम मिलाए पनि अधिकांशको हिसाब अझै नमिलाएको पीडित बचतकर्ताहरूको भनाइ छ । सहकारी संस्थामा भएको हिनामिनाका बारेमा संस्थाले कानुनी झन्झट हुने डरले अहिलेसम्म प्रहरी प्रशासन र धरान उपमहानगरपालिकाको सहकारी शाखामासमेत जानकारी गराएको छैन । उपमहानगरको सहकारी शाखाले प्रकृति बचतका बारेमा आफूहरूलाई कुनै पनि जानकारी नआएको जनाएको छ । सहकारी संस्थाकी अध्यक्ष कमला रुम्दालीले कोरोनाको महामारीदेखि नै सहकारीमा आर्थिक समस्या पर्दै आएको जनाइन् । उनले भनिन्, ‘कोरोनाकालमा हामीले एक महिनाको अवधिमा नै एक करोड बढी रकम फिर्ता ग¥यौ । एकै महिनामा त्यति धेरै नगद फिर्ता गरेपछि सहकारीमा आर्थिक सङ्कट परेर यो समस्या निम्तिएको हो ।’
अहिले व्यवस्थापक नै फरार भएपछि संस्था सञ्चालनमा नै अप्ठ्यारो परेको उनले बताइन् । नाम खुलाउने सर्तमा एक बचतकर्ताले भने, ‘आफूले खाइ नखाई बचत गरेको रकम अप्ठ्यारो पर्दा काम लाग्छ भन्ने थियो । तर महिनौँ दिन धाउँदा पनि बचत गरेको रकम फिर्ता पाइएन ।’ सहकारीका बचतकर्ताहरू दोहोरो पीडामा रहेको उनले बताए ।
एक पीडित भन्छन्, ‘मुद्दा मामिला गरौँ, धेरै हल्ला खल्ला गरौँ भने पनि रकम नपाइएला भन्ने डर छ । अब नबोलौँ, कसैलाई नभनौँ भने पनि कसरी पैसा फिर्ता पाइन्छ ?’ ‘व्यवस्थापक आफैँले करोड बढी रकम चलाएको जस्तो देखिन्छ । त्यसको हिसाब किताब पनि छैन,’ रुम्दालीले भनिन्, ‘सरसरती हेर्दा हामीले डेढ करोड जति फिर्ता गर्नुपर्ने रकम देखिन्छ ।’ संस्थाको ऋण लगानी पनि डेढ करोडको हाराहारीमा रहेको उनले बताइन् । ‘२०७२ सालमा म संस्थाको अध्यक्ष चुनिएकी हुँ, म अध्यक्ष हुनुभन्दा अघिकै समितिले दिएको ऋण असुल गर्न बाँकी छ, मेरो कार्यकालमा त्यस्तो खराब ऋण छैन,’ उनको दाबी छ । उनीअघिको कार्यकालमा अध्यक्ष रहेकी सीता राईको पालाबाटै संस्थामा केही सदस्यहरूले ऋण लिएको भएपनि नतिरेको उनले बताइन् । बचतकर्ताको रकम फिर्ता दिन सञ्चालक समिति गम्भीर रहेको अध्यक्ष रुम्दालीले बताइन् । यता फरार रहेका भनिएका व्यवस्थापक कोइरालालाई पटक–पटक सम्पर्क गर्दासमेत उनको फोन सम्पर्क हुन सकेन । धरानमा सहकारी पीडितहरू हजारौँ छन् । जसले आफ्नो पैसा फिर्ता पाउनका स्थानीय तहदेखि प्रहरी प्रशासनसम्म धाएपनि यी सहकारी संस्थाहरूले भने बचत फिर्ता गरेका छैनन् ।
धरान उपमहानगरपालिकाले बनाएको सहकारी ऐन २०७५ को परिच्छेद १९ को दफा ७९ मा भने सञ्चालक समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा संस्थाको शेयर वा बचत रकम आफूखुसी परिचालन गरी संस्थालाई नोक्सानी पु¥याएमा कसुर गरेको मानिने व्यवस्था उल्लेख गरेको छ । उक्त ऐनमा १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भएमा ६ वर्षदेखि ८ वर्षसम्म कैद हुने व्यवस्था छ ।
ऐनको दफा ७७ मा संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको लगायतका अवस्थामा नगर कार्यपालिकाले सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार