विराटनगर : विराटनगरमा आफ्नै घरबाट लडेर गम्भीर घाइते भएका वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको उपचारका क्रममा मंगलबार बिहानका राति मृत्यु भएको छ ।
आइतबार दिउँसो विराटनगर महानगरपालिका–७ स्थित आफ्नै घरबाट लडेर फुयाँल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा मृत्यु भएको जानकारी अधिवक्ता सञ्जयकुमार मेहताले दिए । उनका अनुसार फुयाँल घरको छतबाट चिप्लिएर खसेका थिए ।
फुयाँलको घर मोरङ जिल्ला अदालतनजिकै पर्छ । कानुन व्यवसायी मेहताका अनुसार फुयाँल घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेका थिए ।
‘उहाँ आफ्नै घरको २ तलामाथिबाट खसेर घाइते हुनु भएको थियो । पुरानो घरको छतमा लेउ लागेको रहेको छ । चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सक्नु भएन,’ उनले भने ।
फुयाँल मोरङ बारका सदस्य छन् । शवलाई तत्कालका लागि न्युरो अस्पतालकै शव गृहमा राखिने भएको छ । छोरा र छोरी बाहिर रहेका कारण उनीहरु आइसकेपछि अन्त्येष्टिका लागि प्रक्रिया अघि बढाउने तयारी छ ।
शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिने र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । फुयाँलका पत्नी, १ छोरा र १ छोरी रहेको मेहताले बताए ।
प्रतिक्रिया