इटहरी : विराटनगरको रानीदेखि धरानको जिरो प्वाइन्टसम्मको ४९ किलोमिटर सडकमध्ये हालसम्म ४२.५ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ । जसमध्ये कतिपय ठाउँमा पूर्ण रूपमा काम सम्पन्न भइसकेको छ । तर, धरान क्षेत्रमा ५ किलोमिटर सडक भने अझै अनिश्चित छ ।
रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालय इटहरीकी सूचना अधिकारी, इन्जिनियर अस्मिता सुवेदीका अनुसार धरानको काम भने अनिश्चित छ । मुआब्जाको कुरा र साइड क्लियरिन्सको समस्याका कारण धरानमा ६ लेनको काम अगाडि बढ्न नसकेको उनले बताइन् ।
‘हामीले डेढ वर्षअघि नै स्थानीय सरकारसहित सरोकारवाला निकायसँग बैठक बसेपनि काम गर्न सकिएन,’ उनले भनिन्, ‘हाम्रो तथ्यांकअनुसार धरानमा एक हजार पाँच सय घर भत्किन्छ । ती घरहरू नभत्किएसम्म धरानमा साइड क्लियरेन्स नहुँदा काम गर्न सकिँदैन ।’
उनकाअनुसार धरानमा दुई थरी कुरा भएका कारण पनि समस्या भएको हो । यहाँ एक हजार पाँच सय घर भत्किनेबारे यसअघि नै चिनो लगाएपनि स्थानीय सरकारको ‘असहयोग’का कारण काम गर्न नसकिएको आयोजनाको दाबी छ ।
‘एक पटक घरहरूमा चिनो लगाउने काम पनि भयो । तर, मुआब्जा दिएको हो वा होइन भन्ने तथ्याङ्क नभएकाले पनि समस्या भएको हो,’ सुवेदी भन्छिन्, ‘धरानमा बाइपास गरेर सडक बनाउनुपर्छ भन्ने पनि कुरा उठेको थियो । तर, योजनाअनुसार बाइपास हुँदैन ।’
उनले योजनाअनुसार बाइपास भएर सडक नबन्ने जिकिर गरिन् । यसअघि नापी कार्यालयले पनि चिनो लगाउने काम गरेपनि अब धरानमा हालसम्म ठेक्का प्रक्रिया नै अगाडि नबढ्दा निर्माणको काम अनिश्चित भएको हो ।
एकतर्फी मानिसहरूले घर भत्काएर सडक बन्नुपर्ने र अर्कोतर्फले भने बाइपास गरेर सडक बन्नुपर्ने सवाल जवाफ गरेपनि हालसम्म निष्कर्ष ननिस्किएको र बाइपास भने नहुने बताइन्छ ।
खासगरी आयोजना कार्यालयका अनुसार जम्मा सडकमध्ये हालसम्म वित्तीय ९० प्रतिशत र भौतिक ९५ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । तर, धरानको तीनकुनेदेखि जिरो प्वाइन्टसम्म ५ किलोमिटर र दुहबीको बजार क्षेत्रमा ६३० मिटर सडकमा ठेक्का लागेर काम सुरु हुन बाँकी रहेको छ ।
धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राईले आयोजनाको काम तत्काल सुरु गर्ने गरी ६ लेन सडकलाई घटाएर ४ लेन बनाउन प्रयास गरेका थिए ।
उक्त प्रयास सहमतिनजिक पुगेको थियो । तर, धरानमा मेयर हर्कराज राई (हर्क साम्पाङ) आइसकेपछि भने यो काम अगाडि बढ्नेभन्दा पनि उदासीन हुँदा यस क्षेत्रमा सडक निर्माणको काम अनिश्चित भएको जानकारहरू बताउँछन् ।
यता, धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भने सडक विभागसँग ठोस छलफल नै नभएको बताए । ‘यसअघि सडक विभागले क्लियर गरिदिनु भनेर पत्र मात्रै पठाएको थियो।
कत्रो बनाउने, के बनाउने भन्नेबारे ठोस निर्णय वा छलफल भएको छैन,’श्रेष्ठले भने, ‘यो सडक बनाउनुपर्ने नेपाल सरकारको सडक विभागले नै हो । तर, यहाँका जनतासँग छलफल गर्न जरुरी छ ।’
उनले कति फुटको सडक बनाउने भन्नेबारे धराने जनतासँग व्यापक छलफल गर्न आवश्यक रहेको बताए । उनले भने, ‘यो विषयमा उपमहानगरले मात्रै निर्णय गर्न सक्दैन । सबै जनतासँग छलफल गर्न आवश्यक छ ।’
उनकाअनुसार यसअघि सडक विभागले सानोतिनो राय सुझाव बुझ्ने काम गरेपनि निर्णयात्मक छलफल गर्न नसकेको सुनाए । खासगरी चारकोसे क्षेत्रमा ७२ फुटको सडक बनेपनि बजार क्षेत्रमा कति फुटको बनाउने भन्नेबारे छलफल गर्नुपर्ने उनको भनाइ छ ।
सडक क्षेत्राधिकारअनुसार २०५ फुट हुनुपर्ने भएपनि त्यसो नभएको र अहिले घरजग्गाहरू किनबेचदेखि बैङ्कमा धितो राख्नेसम्म भएका कारण पनि चरण चरणमा छलफल गर्नुपर्ने इन्जिनियर श्रेष्ठले बताए । ‘तत्काल कति फुटको बनाउने भन्नेबारे जनतासँग नै छलफल गर्नुपर्छ, योबारे उपमहानगरले मात्रै निर्णय गर्न सक्दैन,’ उनले थपे ।
१० अर्ब ९८ करोडमा सम्पन्न हुने लक्ष्यसाथ सुरु भएको ६ लेन सडकको काममा धरानबाहेक अरू सबैतिर निर्माण भइसक्ने निश्चित छ । तर, सुनसरीको मुख्य सहरका रूपमा रहेको धरानमा भने यो योजना कार्यान्वयन गर्ने विषयमा स्थानीय सरकार उदासीन भएको आरोपसमेत लाग्ने गरेको छ ।
अन्य सबै क्षेत्रमा काम भइरहेपनि धरानमा भने बाइपास सडक बनाउनुपर्छ भन्ने कुरा भएकाले योजना कार्यालयले पनि निर्णय गर्न नसकेको र चरणबद्ध छलफल नगरेको बताइन्छ ।
अरूतिर चालु आर्थिक वर्षमा काम सम्पन्न हुने
योजना कार्यालय इटहरीका अनुसार २१ वटा खण्डमा लागेका ठेक्कामध्ये हालसम्म १७ वटा खण्डमा पूर्ण रूपमा निर्माण भइसकेको छ । बाँकी चार वटा खण्डमा भने काम भइरहेको छ भने धरानको ५ किलोमिटर र दुहबीको ६३० मिटर सडकमा काम ठेक्का लाग्न बाँकी छ ।
सूचना अधिकारी सुवेदीकाअनुसार २१ खण्डमध्ये हाल इटहरी–धरान खण्डमा रहेको सेउती पुल, दुहबी–विराटनगर खण्डमा रहेको बूढी खोला पुल, चारकोसे क्षेत्र र दुहबी क्षेत्रको सडक निर्माण भइरहेको छ । त्यसमध्ये कतिपय क्षेत्रमा भने निर्माण अन्तिम चरणमा रहेको सुवेदीले बताइन् ।
तरहराको पानीपियादेखि सेउती पुलसम्म ५.३ किलोमिटरको काम अन्तिम चरणमा रहेको र अब एक महिनाभित्र त्यस क्षेत्रमा निर्माण सम्पन्न भइसक्ने उनले बताइन् । उनकाअनुसार त्यस क्षेत्रमा ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ ।
‘यसअघि विविध कारणले ठेक्का लिएको कम्पनीले काम नगर्दा लामो समय लागेको हो,’ इन्जिनियर सुवेदीले भनिन्, ‘अहिले धमाधम काम भइरहेको छ । अब त्यस क्षेत्रमा एक महिनाभित्रमा काम सम्पन्न भइसक्छ ।’
यता, दुहबीको बजार क्षेत्रबाहेक १.३ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ । त्यसबाहेक दुहबी बजार क्षेत्रको ६३० मिटर सडकमा भने ठेक्का लाग्नै बाँकी रहेको छ । बजारमा मुआब्जालगायतका विविध कारणले गर्दा त्यहाँ ठेक्का लाग्न नसकेको उनले बताइन् ।
खासगरी ०५९ सालको राजपत्रमै २५ मिटर छाडेर सडक बनाउनुपर्ने भएपनि दुहबीको बजार क्षेत्रमा भने ८.२३ मिटर मात्रै छाडेर बनाइएका कारण उल्झन आएको उनको भनाइ छ ।
‘राष्ट्रिय राजमार्गमा २५ मिटर छाड्नुपर्ने र घर भन्दाबाहेक सडक सीमाअन्तर्गत ६ मिटर छाड्नुपर्ने भएपनि दुहबी क्षेत्रमा भने जम्मा ८.२३ मिटर मात्रै छाडिएको रहेछ,’ उनले भनिन्, ‘कतैतिर १५ मिटर छाडिएको र कतै २५ नै मिटर छाडिएको थियो । १५ मिटर छाडेर घर बनाइएका क्षेत्रमा पनि काम सम्पन्न भइसकेको छ । अब दुहबीको थोरै क्षेत्रमा मात्रै समस्या छ ।’
खासगरी ०६९ सालमा ठेक्का लागेर निर्माण सुरु भएको ६ लेन सडकको काम अघिल्लो वर्ष नै सक्नुपर्ने हो । आयोजनाले पटक पटक म्याद थप गरेपनि हालसम्म निर्माण सम्पन्न भइसकेको छैन । तर, अब धरानको ५ किलोमिटरबाहेक अरू सबै क्षेत्रमा चालु आर्थिक वर्षभित्र काम सम्पन्न भइसक्ने आयोजनाको दाबी छ ।
आयोजना कार्यालयको हालसम्मको तथ्यांकअनुसार ठेक्का लागेको ८ अर्ब ८४ करोड रकममध्ये ९० प्रतिशत खर्च भइसकेको छ । ठेक्का लागेर कतिपय क्षेत्रमा यसअघि काम नहुनुको कारण भनेको ठेकदार कम्पनीकै दोष रहेकोसमेत आयोजनाले जनाएको छ ।
खासगरी एक पटक ठेक्का लागिसकेपछि उक्त योजना तोड्न नमिल्ने र तोडेको अवस्थामा कम्पनीले अदालतको आदेश ल्याउने भएकाले पनि कतिपय क्षेत्रमा ढिलो काम भएको आयोजनाको भनाइ छ ।
‘कतिपय ठाउँमा साइड क्लियरेन्स र जग्गा विवादले बेलैमा काम गर्न सकिएन,’ सूचना अधिकारी सुवेदी भन्छिन्, ‘तर अब भने कहीँ पनि रुग्ण अवस्था छैन ।’ हाल निर्माणाधीन रहेको दुहबी र चारकोसे क्षेत्रसहित दुई वटा पुल निर्माणाधीन रहेकाले चालु वर्षभित्रै काम सम्पन्न गरिसक्ने आयोजनाले जनाएको छ ।
प्रतिक्रिया