निशा राई धरान : धरानमा पछिल्लो समय दुव्र्यसनिकोे सङ्ख्या थप बढ्दै गएको छ । विभिन्न आपराधिक घटनामा लागूऔषध प्रयोगकर्ताहरूको संलग्नता अधिक देखिएको बढ्दै छ ।
लागूऔषध दुर्व्यसनले एउटा जिन्दगी मात्र होइन, घर, परिवार, समाजलाई पनि नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।
यसलाई समाधान गर्न लागूऔषध प्रयोग गर्नेभन्दा पनि लागूऔषधको कारोबार गर्नेमाथि निगरानी बढाउनुपर्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जबेगुले बताउँछन् ।
आपराधिक घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नताको ग्राफ बढ्दो भएपछि धरानमा सादा पोसाकको प्रहरी टोलीले सक्रियता बढाएको उनले जनाए ।
लागूऔषध दुर्व्यसनीको कारणले यहाँ चोरी, लुटपाट, कुटपिट, झैँ–झगडा लगायतका आपराधिक घटना हुने गरेपछि सक्रियता बढाइएको डिएसपी जबेगुले बताउँछन् ।
‘यही कुरालाई मध्यनजर गर्दै सादा पोसाकको टोली परिचालन गर्दै लागूऔषध कारोबारीमाथि निगरानी र नियन्त्रणका लागि होटेल, मेडिकलहरूमा अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
केही महिनाअघि मात्र प्रहरीले मेडिकलबाट अवैध लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि धरान ८ को दुई वटा मेडिकलमा अनुसन्धान गरेको थियो ।
जसमा पोलिक्लिनिक मेडिकलका डाक्टर दीपेन्द्रप्रसाद गुप्तालाई पक्राउ गरिएको थियो । अर्को मेडिकलमा भने औषधी विभागले ‘शील’ गरिदिएको छ ।
उपचारका लागि स्वीकृत लिएका औषधी पसलहरूबाटै पनि प्रतिबन्धित औषधीहरू बिक्री गर्ने थलोको रूपमा मेडिकलहरू सञ्चालन भइरहेकोले यसतर्फ निगरानी बढाएको उनी बताउँछन् ।
लागूऔषध दुर्व्यसन रोक्नको लागि बिक्रीकर्ताहरूलाई रोक्न जरुरी रहेको उनले बताए । ‘यसमा प्रहरी एक्लैले मात्रै सम्भव नभएकाले समाजका सबै सरोकारवाला निकायहरू लागि पर्न आवश्यक छ,’ डिएसपी जबेगुले भने ।
लागूऔषध प्रयोगकर्ताहरूले लागूऔषध खानको लागि पैसा नभएपछि चोरीका घटनामा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
‘चोरिएको मोबाइलहरू भारततर्फ गएर बेच्ने र उतैबाट लागूऔषध खरिद गर्ने अनुसन्धानबाट खुल्दै आएको छ,’ उनले भने । पछिल्लो समय रातको समयमा मोबाइल चोरी गर्ने प्रवृत्ति बढ्दै गएकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अधिकांश लागूऔषधमा फसेकामा युवाहरू भए पनि पछिल्लो समय युवतीहरू पनि धेरै मात्रामा रहेको अधिवक्ता दीपक बुढाथोकी बताउँछन् । अधिकांश झैँ–झगडा, कुटपिट, ज्यान मुद्दा, अभद्र व्यवहार, चोरीजस्ता मुद्दाहरूमा लागूऔषध प्रयोगकर्ताहरू नै संलग्नता रहेको उनको भनाइ छ ।
‘धरानका अधिकांश ज्यान मार्ने उद्योग, चोरी, कुटपिटलगायतको मुद्दामा युवायुवतीहरू हुन्छन् । र सानो कुरामा नै कुटपिट गर्ने, ज्यान मार्न प्रयास गर्ने, अभद्र व्यवहार गर्नेजस्ता घटना हुन्छन्,’ अधिवक्ता बुढाथोकीले भने ।
लागूऔषध प्रयोगकर्ताका कारण आपराधिक घटनामासमेत वृद्धि भएपछि स्थानीय सरकारसहित सरोकारवाला निकायले समाजमा जनचेतना कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘विद्यालय स्तरबाटै बालबालिकाहरूले लागूऔषध प्रयोग गर्ने भएकाले लागूऔषध सम्बन्धी सचेतना कार्यक्रमहरू आवश्यक छ,’ उनले भने, ‘सचेतना कार्यक्रमले पनि धेरै हदसम्म लागूऔषध सेवन गर्न निरुत्साहित गर्छ ।’
धरानमा लागूऔषधसहित पक्राउ पर्नेको तथ्याङ्क यस्तो छ
यही कात्तिक २६ गते मात्र धरान–३ बाट धरान–१५ बस्ने २४ वर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ वर्षीया मेलिना राईलाई ब्राउन सुगर ५ सय २० मिलिग्रामसहित पक्राउ गरेको छ ।
सोही दिन धरान ८ र ९ बाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधीसहित धरान १५ बस्ने २४ वर्षीय मौसम लिम्बू, २३ वर्षीया सृजना राई र २५ वर्षीया निशा श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामानिल दुई सय क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन २ सय ट्याब्लेटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा सिराहा चन्द्रअयोध्यापुर घर भई धरान -९ दौलत थुलुङको घरमा कोठा भाडामा बस्ने २३ वर्षीय अङ्कित कुमार सिंह, धरान - ८ का २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई ट्रामानिल ९ हजार ३ सय क्याप्सुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
उनीहरूबाट बिक्रीकर्तासम्म पुग्न सकिने भएकाले थप अनुसन्धान गरिरहेको डिएसपी जबेगुले बताए । यसैगरी गत कात्तिक २७ गते धरान–१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागूऔषध गाँजासहित फर्मका सञ्चालक मणिराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
सिभिल टोलीबाट सुराकीको आधारमा कृषि फर्ममा लागूऔषध गाँजाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ७ किलोग्राम गाँजा बरामद भए सँगै फर्म सञ्चालक धरान–१३ का ४४ वर्षीय मणिराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबिच पछिल्लो समय धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रवार धरानको विभिन्न चोकहरूमा ‘से नो टु ड्रग्स’ अभियान सुरु गरेका छन् ।
धरानमा विभिन्न आपराधिक घटनामा लागूऔषध प्रयोगकर्ताबाटै हुने गरेको तथ्य सार्वजनिक भएपछि प्रमुख राईले लागूऔषधविरूद्ध सचेत वर्गलाई एकजुट भएर लाग्न आह्वान गर्दै अभियान प्रारम्भ गरेको जनाउँदै आएका छन् ।
प्रमुख राईले चलाएको अभियानमा धेरै मात्रामा स्थानीय बासीहरूको साथ सहयोग रहेको देखिए पनि लागूऔषध प्रयोगकर्ताहरू भने बर्सेनि बढिरहेको इलाका प्रहरी कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
धरान प्रहरीको तथ्याङ्कअनुसार २०७७।०७८ को आर्थिक वर्षमा लागूऔषध र प्रतिबन्धित औषधीको कारोबारमा संलग्न ७९ जना पुरुष र ४ जना महिला पक्राउ परेका छन् । यसैगरी अैषधी विभागमा २९ जनालाई बुझाइएको छ ।
२०७८/०७९ मा ७९ जना पुरुष र ४ जना महिला पक्राउ र औषधी विभागमा ३६ जनालाई बुझाइएको छ । यसैगरी २०७९।०८० मा ९१ जना पुरुष र २ जना महिला पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यसैगरी औषधी विभागमा ६९ जनालाई कारबाहीको लागि बुझाइएको छ ।
२०८०/०८१ मा १७६ जना पुरुष र १७ जना महिला पक्राउ परेका छन् भने औषधी विभागमा ७१ जनालाई बुझाइएको छ ।
यस्तै, चालु आर्थिक वर्ष २०८१।०८२ मा हालसम्म ६४ जना पुरुष र १ जना महिला पक्राउ परेको धरान प्रहरीले जनाएको छ । यस्तै, एउटा कार एउटा मोटरसाइकल, एउटा स्कुटर, एउटा ट्रक र एउटा ट्याम्पोसमेत नियन्त्रणमा लिइएको छ ।
यसैगरी चालु आर्थिक वर्ष २०८१/०८२ मा ब्राउन सुगर ३७ ग्राम ८९०, नाइट्रोजन ८ सय ९५, गाँजा १४ सय ७१ केजी, ट्रामाडोल-ट्रामानिल ४४ हजार १ सय ९६, स्पास्मो प्रोक्सिभोन १ हजार २ सय २४ गरी विभिन्न प्रतिबन्धित १४ हजार ६ सय ६३ औषधीहरू औषधी विभागमा बुझाएको प्रहरीले जनाएको छ ।
खासगरी गत जेठ ७ गतेदेखि नेपाल सरकारले राजपत्रमै नियन्त्रित औषधीलाई लागूऔषधका रूपमा परिभासित गरेपछि प्रहरीले अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै आएको छ ।
‘नेपाल सरकारले लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ९७० बमोजिम ट्रमा डोल र टपेन्टाडोल औषधीहरूको एकल वा सम्मिश्रण भई बनेका औषधीहरूको मनोद्धीपक पदार्थको रूपमा तोक्ने निर्णय गरेको,’ राजपत्रमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले पछिल्लो समय प्रहरीले अनुसन्धानलाई थप प्रभावकारी बनाउन थालेपछि लाागूऔषध प्रयोगकर्ताको ग्राफ बढेकोजस्तो देखिए पनि नियन्त्रणमा आइरहेको बताए ।
‘लागूऔषध प्रयोगले भ्रमात्मक, शिथिलात्मक र उत्तेजनात्मक गराउने काम गर्छ,’ उनले भने, ‘गाँजा, चरेस खाँदा भ्रमात्मक हुन्छ । खाएपछि शिथिलात्मक हुने ब्राउन सुगर, नाइटाभेट, डाईजापामजस्ता लागूऔषध हुन् ।’
यसैगरी कोकिनलगायतका लागूऔषधले उत्तेजनात्मक बनाउने काम गर्ने भएकाले यसबाट टाढै रहन उनले आग्रह गरे ।
प्रतिक्रिया