इटहरी : अध्ययन गर्नका लागि युके गएका मोरङका एक युवक बेपत्ता भएका छन् । उनी एक सातादेखि बेपत्ता भएपछि परिवारजनले खोजीका लागि अपिल गरेका छन् ।
मोरङको सुन्दरहरैंचा ७ गोठगाउँका २४ वर्षीय सचिन भट्टराई गत शनिवारदेखि बेपत्ता भएका हुन् ।
‘पछिल्लो पटक गत शनिवार नै घरमा सम्पर्क भएको थियो, त्यसपछि सम्पर्कविहीन भएका छन्,’ सचिनका काका (सानो बुबा) राजेन्द्र अधिकारीले भने, ‘उनका साथीहरूले तीन दिनअघि घरमा खबर गरेपछि मात्रै थाहा भयो । कहाँ गए, के गर्दैछन् केही थाहा छैन ।’
उनी सम्पर्कमा नआएपछि सँगै कोठामा बस्ने साथीहरूले परिवारमा खबर गरेका थिए ।
काठमाडौँ रत्नपार्कमा रहेको गोल्डेन अपच्र्युनिटी इन्टरनेशनल फाउन्डेसनबाट युकेको ब्रिस्टोल सहरमा गएका उनी सोही ठाउँमा दुई महिनादेखि बस्दै आएका थिए ।
उनी त्यहाँस्थित एक रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, शनिवारदेखि नै काममा पनि नगएको अधिकारीले बताए ।
सचिनकी आमा सीता भट्टराईका अनुसार उनी युके गएपछि एक लाख रुपैयाँ घरबाटै पठाइएको थियो ।
‘हामीले तिहारको बेलामा एक लाख पठाएका थियौँ,’ उनले भनिन्, ‘ब्याचलर सकेर डिग्री पढ्न गएको थियो । शनिवार म सँगै कुरा भएको थियो, त्यसपछि कोहीसँग पनि सम्पर्क छैन ।’
उनले खोजीका लागि सक्दो सहयोग गर्न अपिल गरिन् । उनीसँगै बस्ने साथीहरूका अनुसार सचिनले कोठामै ल्यापटप, पासपोर्टलगायतका डकुमेन्ट छोडेका छन् ।
मोबाइल र क्रेडिट कार्ड साथमै बोकेपनि उनी सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि अपिल गरेको जनाएका छन् ।
उनलाई कसैले देखे, भेटेमा सम्पर्क गरिदिन पनि अपिल गरेका छन् । सम्पर्कका लागि युकेको नम्बर ४४७५७०७३४४३२ मा सम्पर्क गर्न सकिनेछ । यसैगरी नेपालका लागि ९८४२२८३२८६ र ९८१६३१७१०२ मा सम्पर्क गर्न सकिने परिवारजनले जनाएका छन् ।
प्रतिक्रिया