वेदान्त–विज्ञान विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू

शनिबार, ०८ मंसिर २०८१
रमेश गिरी/भक्तपुर : जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीच संवाद विषयक दुईदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काँडाघारीस्थित अक्षरा स्कुलमा आजबाट सुरू भएको छ । आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य शाश्वत सभा नेपाल, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल तथा श्री चैतन्य शास्वत संस्था पश्चिम बंगाल भारतको आयोजना र अक्षरा स्कुलको सहआयोजना भएको सम्मेलनको आज कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गरे । उनले संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई हाम्रो अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा प्रदान गर्ने सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । नगर प्रमुख कार्कीले जीवनको उत्पत्ति र क्रमिक विकासलाई बुझ्न नसक्दा मानव अध्यात्मबाट विमुख हुँदै गइरहेका चर्चा गर्दै उनले अझ नयाँ पुस्तामा भौतिकवादी सोच हावी हुँदा जीवन र जगतलाइ हेर्ने दृष्टिकोण अपूर्ण रहेको बताए । विज्ञानले जैविक र रासायनिक प्रक्रियाका माध्यमबाट बुझ्ने प्रयास गरेको छ भन्दै उनले वेदान्त दर्शनले जीवनलाई एक दिव्य र आध्यात्मिक अभिव्यक्ति मान्दै यसको शाश्वत दृष्टिकोण एकअर्काका पूरक एवं यिनको बीचको समन्वयले जीवनको गहिरो रहस्यलाई उजागर गर्न सम्मलनले मद्दत पुर्याउने बताए । सनातन संस्कृतिभित्रका अनुकरणीय विषयलाई विज्ञानसँग जोडेर चिन्तन र मनन गर्ने प्रमुख उद्देश्यका साथ सम्मेलन सुरु भएको सहओायजक अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले बताइन् । उनले सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नयाँ पुस्तामा नहुँदा हाम्रो पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएकाले नयाँ पुस्तामा मूर्तिको पुजा गरेर मात्रै हुदैन, आफूभित्रको ब्रम्हको पहिचान गरेर अगाडि बढ्न प्रेरणा दिने उदेश्यले सम्मेलन आयोजना गरेको बताइन् । “संस्कारयुक्त शिक्षाको दर्शनलाई सिकाइसँग जोडेर लैजान १५ वर्षदेखि मैले अनवरतरुपमा प्रयास गरिरहेको छुँ, हाम्रो देश नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमिका रुपमा विश्वमा चिनिन्छ”, कार्यकारी निर्देशक भट्टराईले भनिन्, “जहाँ शिवले ध्यान र ज्ञान बाँडे, बुद्धले शान्तिको मार्ग देखाए, वेदव्यासले वेदको रचना गरे, जनकजस्ता राजर्षिले राज्य गरे, गोरखनाथले तप गरे, याज्ञवल्क्य, विश्वामित्र, कपिलमुनि, गौतम, ऋष्यशृङ्ग वाल्मीकिजस्ता ऋषिहरुको तपस्थली बन्यो, यस्तो पावन र पवित्र भूमिमा अध्यात्म र विज्ञानलाई जोडेर लैजान सम्मेलनले उर्जा थपेको छ ।” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिद्धानहरुले नेपाल अध्यात्मको केन्द्र हुनुपर्छ भन्ने मान्यता राख्दै आएको अवस्थामा यस सम्मेलन नेपालका लागि कोसेढुङ्गा सावित हुनेमा उनले विश्वास व्यक्त गरिन् । सम्मेलनमा डा. भक्ति निष्काम सन्त माहाराजले जैविक र रासायनिक प्रक्रियाको आधारमा जीवनको उत्पत्ति र विकास भएको स्मरण गर्दै प्राकृतिक चयन र अनुकूलन, डार्बिनको विकासवादी सिद्धान्त, उत्परिवर्तनको सिद्धान्तलगायत बिभिन्न सिद्धान्तले यसको पुष्टि गरेको बताए । मानव मनको शान्तिको स्रोत र जीवनअघिको अवस्था एवं जीवनपछिको अवस्थाबारे रहस्य खोतल्न वेदान्तमै पुग्नु पर्ने बताउदै उनले बेदान्तबाटै विज्ञान अगाडि बढेको चर्चा गरे । सम्मेलनमा नेपाल, भारत, अमेरिका, श्रीलंकालगायत विभिन्न राष्ट्रका ३० जनाभन्दा बढी प्रतिष्ठित वैज्ञानिक र आध्यात्मिक चिन्तक एवं विज्ञ प्रोफेसर, दुईदिनसम्म कार्यपत्र प्रस्तुत गरि सम्मेलनमा सहभागि तीन सय भन्दा बढीको छलफलले वेदान्त र विज्ञानको अन्तरसम्बन्धबारे प्रस्ट्याउने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार