काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।
काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहका बीच ट्रफी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदलाई नयाँ अध्यायमा लैजानका लागि सरकारले गरिरहेको सहयोगको लागि धन्यवाद दिए ।
सिद्धार्थ बैङ्क एनपीएलको ट्रफी आफैँमा विशेष रहेको बताउँदै प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाउने बताए ।
ट्रफीमा सर्वोच्च शिखर सगरमाथाको काख काला पत्थरबाट ल्याएको ढुङ्गा प्रयोग गरिएको छ । यसमा निकुञ्ज, बन, जङ्गलको पनि सम्मिश्रण रहेको छ । उक्त पत्थर पर्वतारोही निमा शेर्पा र मिंङमा तेन्जी शेर्पाले ल्याएका थिए ।
ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको बताए । ऐतिहासिक र गौरवपूर्ण धरहराको काखमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण गर्दा खेलकुदमा नयाँ जाँगर भरेको पनि बताए ।
उनले नेपाली क्रिकेट इतिहासको विशाल एवं उमङ्गमय पर्व एनपीएल भएको पनि बताए । ‘अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई अङ्गालेका छन् । क्रिकेट नेपाली युवा पुस्ताको सपना र गौरवको रूपमा रहेको छ । यो खेल मात्रै नभएर अनुशासनको मानक पनि हो,’ उनले भने । त्यस्तै आयरल्यान्डका खेलाडीलाई आशिफ शेखले रन आउट नगरेर स्पोर्टस म्यानसिपको उत्कृष्ट नमुनाको भिडियोका बारेमा चर्चा गरे ।
यसै गरी करण केसीको भ्यालेन्टाइन ब्वाए नामको बारेमा पनि चर्चा गरे । यसै गरी कुशल भुर्तेल बलर कि ब्याटर भनेर प्रश्न गर्दै शतक प्रहार गर्न आग्रह गरे ।
चितवन राइनोजका विषयमा ओलीले चितवन गैडाज भनेर सम्बोधन गरे । चितवन गैंडाजका कुशल मल्लको पनि आगामी दिनमा थप चर्चा हुने विश्वास गरे ।
लुम्बिनीका कप्तान रोहित पौडेलको नाम सुन्दा नै आफूलाई गर्व लाग्ने बताए । उनलाई जसले जिते पनि देशले जितेको महसुस हुने बताए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेलाई नेपाली क्रिकेटको ब्रान्ड एम्बास्डर भन्दै नेपालीले चान्स पायो कि डान्स गर्छ भन्दै प्रशंसा गरे ।
कर्णाली याक्सका सोमपाल कामीको योर्करबारे पनि चर्चा गर्दै सफलताको शुभकामना दिए । यसै गरी कर्णाली याक्सले भारतका गब्बर ९शिखर० धवनको आगमनले झनै उमङ्ग थपेको बताए ।
सुदूरपश्चिमका दीपेन्द्रसिंहको बारेमा प्रशंसा गर्दै उनका कीर्तिमानहरूबारेमा चर्चा गरे । देशको प्रधानमन्त्री भएकाले आठ वटै टिमको समर्थन र सद्भाव रहने बताए ।
पहिला सबैलाई शुभकामना दिने तर जितेपछि बधाई दिन्छु । यसै गरी क्यानलाई महिला फ्रेन्चाइज क्रिकेट पनि आयोजना गर्नका लागि आग्रह गरे ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले देश विदेशमा एनपीएलको चर्चा र परिचर्चा भएको प्रति खुसी व्यक्त गरे । एनपीएल अब आर्थिक, खेल पर्यटनको उद्योगको रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले पुराना मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्नका लागि एनपीएल सफल हुनेमा विश्वास व्यक्त गरे । प्रतियोगिताका लागि राखेपले सदा साथ दिने पनि प्रतिबद्धता जनाए ।
एनपीएलमा ८ टिमले सहभागिता जनाएका छन् ।समारोहमा प्रधानमन्त्री ओलीका साथै, युवा तथा खेलकुद मन्त्री चौधरी, राखेप सदस्य सचिव घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्दलगायत खेल पदाधिकारी र खेलाडीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया