कर्मशियल बैंक र राष्ट्रबैंकको चेपुवामा परेको लघुवित्त सञ्चालकहरुको गुनासो

शनिबार, ०४ चैत्र २०७९
इटहरी । कर्मशियल बैंकहरुको बढ्दो ब्याजदर र राष्ट्रबैंकको दबावका कारण लघुवित्त संस्थाहरु समस्यामा परेको लघुबित्त सञ्चालकहरुले गुनासो गरेका छन् । सुनसरीको इटहरीमा शनिबार सपोर्ट माइक्रोफाइनान्सको आठौँ बार्षिक साधारणसभाका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । सपोर्ट माइक्रोफाइनान्सका पूर्वअध्यक्ष अशोककुमार प्रधानले कर्मशियल बैंकहरुले ब्याजदर बढाउँदै लाने र सरकारले लघुवित्तहरुको ब्याजदर भने घटाउदै लगेका कारण दोहोरो चेपुवामा परेको बताए । राष्ट्र बैंकको दबाव थेग्नै नसक्ने गरी आएका कारण पनि मर्जरमा जानुपर्ने अवस्था आएको उनको भनाइ थियो । माइक्रोफाइनान्सका अध्यक्ष प्रदिप अधिकारीले बिद्यमान अवस्थामा लघुवित्तहरुको शाखा सञ्जाल ब्यापक हुदै गएपनि एकै व्यक्तिले धेरै ठाउँबाट कर्जा लिने गरेका कारण असुलीमा समस्या देखिएको बताए । उनले लघुवित्त संस्थाहरुबीच भइरहेको तीब्र प्रतिस्पर्धा, कर्जा सूचना केन्द्रमा सबै ग्राहकहरुको तथ्यांक उपलब्ध नहुनु, कोरोना महामारीको असर, तरलता अभावका साथसाथै फण्ड व्यवस्थापनमा लागत दर अघिल्लो आर्थिक बर्षको तुलनामा अस्वाभाबिक बढ्नु जस्ता कारणले पनि चुनौती थपिएको बताए । उनले सपोर्टलाई समेत नेपाल राष्ट्र बैंकको भावनाअनुरुप एकै प्रकृतिका वित्तीय संस्थासँग एक आपसमा गाभिएर जाने पहल भइरहेको उल्लेख गरे । कार्यक्रममा संस्थाका सञ्चालक महेश पोखरेल, नवनिर्वाचित सञ्चालक सदस्य तारादेबी भट्टराई लगायतले संस्थाको गतिविधि र आगामी कार्यदिशाबारे चर्चा गरेका थिए । कोशी प्रदेशमा २५ ठाउँमा शाखा रहेको संस्थाको आठौँ साधारणसभाले साढे ११ प्रतिशतका दरले सेयर सदस्यहरुलाई बोनस बितरण गर्ने स्वीकृति प्रदान गरेको छ । संस्थाले यस आर्थिक वर्षमा १ अर्ब ४० करोड रुपैयाँको कारोबार गरेको साधारणसभामा अध्यक्ष अधिकारीले प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका निमित्त कार्यकारी अधिकृत एवं कम्पनी सचिव बिष्णुकान्त चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । यसैबीच, उत्कृष्ट शाखा कार्यलयका रुपमा सुनसरीको बक्लौरी शाखालाई नगदसहित सम्मान गरिएको छ । शाखा प्रमुख मनमाया निरौलालाई उक्त सम्मान गरिएको थियो । यसैगरी निवर्तमान सञ्चालक सदस्य भुपाल मिश्र, गुरुप्रसाद लामिछाने र पूर्वअध्यक्ष अशोककमुार प्रधानलाई समेत अध्यक्ष अधिकारीले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा उद्योगपति तथा सञ्चालक पुनितकुमार शारडा, सुमित अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार