प्रधानमन्त्री ओलीको गृह जिल्ला भ्रमण : यस्तो छ कार्यक्रम तालिका

आइतबार, २३ मंसिर २०८१
झापा । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुई दिवसीय भ्रमणका क्रममा आज (आइतबार)गृहजिल्ला झापा आएका छन् ।  गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला आएका हुन् । नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्ला स्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधि सँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिए । प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको शिलान्यास र दिउँसो १ः३० बजे दमक–३, दापगाछी स्थित व्यावसायिक कम्प्लेक्सको  उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए । यसैगरी, सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम शिलान्यास बाहेक अन्य सबै कार्यक्रम उनको निर्वाचन क्षेत्र भित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए । त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोड स्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताए ।  प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमाले बीच यसअघि भएको छलफलमा आवश्यक तयारी सहित जिल्ला स्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्री समक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार