विराटनगर । विराटनगरमा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेका पैदलयात्री युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो विराटनगरबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले विराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कनजिकै पैदलयात्रीलाई दिउँसो ४ः१० बजेतिर ठक्कर दिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बाटो क्रस गर्दै गर्दा मोरङको कानेपोखरी गाउँपालिका घर भएका अन्दाजी २६ वर्षीय माने भनिने मानबहादुर लिम्बूलाई ट्रकले ठक्कर दिएको बताए ।
दुर्घटनामा परेर लिम्बू गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ दिउँसो ४ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी जोशीले बताए ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चालक फरार भएकाले उनको खोजी तीव्र पारिएको जोशीले बताए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया