धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) विरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीले सोमबार मौन जुलुस प्रदर्शन गरेको छ ।
मौन जुलुसमा सहभागीले डर धम्की बन्द गर, तिमि शासक कि जनप्रतिनिधि ? हामी यसको जवाफ पाउँछौ कि, प्रेस स्वतन्त्रता कायम गर, नागरिक थुक्न पाइँदैन, पत्रकार थुक्न पाइँदैन, प्रेस स्वतन्त्रतालाई सम्मान गर, स्वतन्त्रतापूर्वक बोल्न र लेख्न देऊ, प्रेस स्वतन्त्रताको रक्षा गर लगायतका नाराहरू लेखिएको प्ले कार्ड प्रदर्शन गरिएको थियो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी नगर प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सुनसरीले विरोध स्वरूप मौन जुलुस प्रदर्शन गरेको नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्ष जनक ऋषि राईले बताए ।
केही दिन अघि नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्सद गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा लेखेको समाचार प्रकाशित भएपछि नगर प्रमुख राईले पत्रकार दाहाल सहित पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई विरुद्ध सामाजिक सञ्जालबाट धम्कीपूर्ण भाषा लेखेका थिए ।
उक्त अभिव्यक्ति प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घ केन्द्र, प्रदेश र सुनसरीले विरोध जनाएको थियो ।
विरोध प्रदर्शनमा पत्रकारहरू, धरानका बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो । यसअघि महासङ्घले गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।
प्रतिक्रिया