इटहरी १३ की चन्द्रकला खतिवडाले विभिन्न मितिमा तिवारीलाई ११ लाख रुपैयाँ ऋण दिइन् । ‘मैले पनि अरूसँगै ऋण लिएर पटक पटक गर्दै दिएँ,’ उनी भन्छिन्, ‘कहिले छोरीलाई विदेश पठाउने त कहिले घर खर्च चलाउने भन्दै अनुनय गरेपछि ऋण खोजेरै दिएकी हुँ । अहिले आफ्नै घर उठीबास लाग्ने अवस्था भयो ।’उनले आफूले पनि अरूसँगै ब्याजमा ऋण लिएर तिवारीलाई दिएका कारण अहिले उठीबास लाग्ने अवस्था आएको सुनाइन् । साढे दुई वर्षयता तिवारी फरार भएपछि आफू मानसिक रूपमै प्रताडित रहेको उनले गुनासो गरिन् । ‘अरूलाई सहयोग गरेकै कारण घर उठीबास लाग्ने भयो । न आफूले अरूको पैसा दिन सकियो, न आफ्नो नै फिर्ता आयो,’ उनले भनिन् । उनी प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै झन्डै दुई दर्जन व्यक्तिको करिब ५० लाख रुपैयाँ लिएर तिवारी फरार छन् । स्थानीयहरूका अनुसार उनी भारतमा लुकेर बसेका कारण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल)मार्फत झिकाउनका लागि प्रहरीमा निवेदनसमेत दिइने तयारी छ । तिवारीले इटहरी १३ शान्ति टोलमै रहेको घर धितोमा राखी एनएमबी बैङ्क गोठगाउँ शाखामार्फत कर्जा लिएका थिए । २५ लाख रुपैयाँ कर्जा लिएपनि उनले नतिरेपछि बैङ्कले पनि लिलामीको प्रक्रिया अगाडि बढाइसकेको छ । तिवारीबाटै पीडित रहेकी छलिमाया गौतम (अधिकारी)ले तीन लाख रुपैयाँ दिएको बताइन् । ‘छोरा विदेश पठाउने भनेर ऋण लगेको हो,’ प्रदेश खबरसँगको कुराकानीका क्रममा उनी भन्छिन्, ‘छोरा त विदेश पठाए । तर, न ऋण दिएको पैसा फिर्ता आयो, न परिवार नै यहाँ बस्यो । थाहै नदिई भागेको भन्ने सुनेपछि झसङ्ग भएँ ।’
स्थानीय ईश्वरी लुइँटेलले कहिले छोरीको विवाह गर्न, कहिले छोरालाई विदेश पठाउन त कहिले विभिन्न बहानामा तिवारीले आफूबाट पाँच लाख रुपैयाँ लगेको बताए । विभिन्न बहानामा पैसा लगेपनि फिर्ता नगर्दा समस्या भएको उनी बताउँछन् ।
‘गाउँ समाजमा एक–अर्कामा सहयोग गर्नुपर्छ भनेर पैसा सहयोग गरेको तर योजनाबद्ध ढङ्गले फसाइयो,’ स्थानीय भीमप्रसाद काफ्लेले भने, ‘चोरेर पो खान हुँदैन । मागेर खान पाइयो । तर, किन भाग्नु रु पैसा खाएर भाग्ने होइन, आउनुपर्छ ।’
उनका अनुसार तिवारीका छोरा रञ्जित तिवारी वैदेशिक रोजगारीका लागि दुबईमा छन् ।
२०८१ साउन २३ गते एनएमबी बैङ्क गोठगाउँ शाखामा रहेको खाता नम्बरबाट रमेशले तीन लाख १८ हजार रुपैयाँको चेक दिएका थिए । तर, उक्त चेकमा भने फरक (हस्ताक्षर नमिलेको)हस्ताक्षरसहित चेक दिएका थिए ।
उक्त चेक दिएपनि सो मितिमा तीन सय १८ रुपैयाँ मात्रै पैसा रहेको पाइएपछि पटक पटक बैङ्क गएको पीडित काफ्लेले बताए ।
‘पटक पटक बैङ्क गएपछि पैसा साटिएन । त्यसपछि मैले मेरो खाता रहेको खनारको लक्ष्मी सनराइज बैङ्कमार्फत चेक बाउन्सको प्रक्रिया अगाडि बढाएँ,’ काफ्ले भन्छन्, ‘अहिले यो प्रक्रिया प्रहरीकहाँ छ । पैसा डुब्यो, मान्छे पनि फरार हुँदा समस्या भयो ।’ तिवारीको परिवार योजनाबद्ध ढङ्गले बिदेसिएको उनको आरोप छ ।खासगरी तिवारीले इटहरी १३ मै रहेको चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्थाबाट एक लाख ५० हजार, शान्ति टोल विकास संस्थाबाट १४ हजार नौ सय ३२ रुपैयाँ, चन्द्रकला खतिवडाबाट ११ लाख, रामचन्द्र अधिकारीबाट पाँच लाख ५० हजार, भीमप्रसाद काफ्लेबाट तीन लाख १८ हजार, ईश्वरीप्रसाद लुइँटेलबाट दुई लाख ५० हजार, लीलादेवी भट्टराईबाट तीन लाख पचास हजार, जमुना दाहाल खनालबाट पाँच लाख रुपैयाँ ऋण लिएका छन् । यसैगरी गीतादेवी न्यौपानेबाट एक लाख, रुकमणि सापकोटाबाट एक लाख, पवित्रा पाण्डेबाट दुई लाख, देवीका गौतमबाट २० हजार, रमेश निरौलाबाट एक लाख ७६ हजार, चार सय, नरबहादुर राईबाट एक लाख, दुर्गाबहादुर पाण्डेबाट एक लाख, छलिमाया गौतमबाट दुई लाख, केशव अधिकारीबाट एक लाख रुपैयाँ रकम लिएर फरार छन् । यस्तै, नवीन दाहालबाट ३३ हजार, भक्ति ओझाबाट १५ हजार, भक्तबहादुर कार्कीबाट दुई लाख, टीकाकुमारी न्यौपाने (लुइँटेल)बाट ४० हजार, नरेन्द्रप्रसाद तिवारीबाट दुई लाख, दुर्गा रेग्मीबाट साढे तीन लाख, भक्तबहादुर कार्कीबाट दुई लाख, गीता न्यौपानेबाट एक लाख रुपैयाँ लिएर फरार छन् । पीडितहरूले यसअघि इटहरी १३ को वडा कार्यालयमा निवेदनसमेत दिएका थिए । खासगरी विश्वासको भर परेर उनीहरूले तिवारीलाई ऋण, सापट दिएका थिए । कुनै कागजसमेत नगरीकन विश्वासको भरमा पर्दा आफूहरू ठगीमा परेकाले सम्बन्धित निकायमार्फत तिवारीलाई झिकाउनका लागिसमेत पीडितको आग्रह छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले प्रहरीमा निवेदन दिएपश्चात् इन्टरपोल मार्फत तिवारी दम्पतीको खोजी गर्ने बताएका छन् । उनले प्रमाण भएका पीडितहरू कम भएका कारण उनीहरू मार्फत प्रहरीमा निवेदन आइसकेपछि आफूहरूले कार्वाहि प्रक्रिया अघि बढाउने समेत दाबी गरेका छन् ।
प्रतिक्रिया