पूर्वमा पनि गल्फ कोर्समा आकर्षण बढ्दै

मंगलबार, २५ मंसिर २०८१
धरान : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका गल्फ प्रेमिका लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् । हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताए । उनका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध छन् । सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आएका खेलाडी जीतेन्द्र राई ‘सिङ्गल हेण्डी क्याप’ खेलाडीका रूपमा सक्रिय छन् । सुरुमा स्वास्थ्यका लागि खेलेको बताउँदै उनले अहिले यसको अनिवार्य अभ्यास गर्ने सोख बसेको उल्लेख गरे । उनले भने, “विशेषगरी यो खेल मैले स्वास्थ्यका लागि लिएको हुँ । यो खेल खेल्न त्यति सजिलो भने छैन । सिक्नका लागि लामो समय लागे पनि यो खेल ‘जिरो इञ्जोर’ खेल भएकाले यसमा रमाइरहेको छु ।” आफूले गल्फ खेल्न थालेपछि विभिन्न टुर्नामेन्टमा सहभागी भएर उपाधिहरू पनि जितेको जीतेन्द्रले जानकारी दिए । प्रोफेसनल गल्फ नेपाल एशोसिएसनले गरेको टुरमा आफू सिङ्गल हेण्डी क्याप भएकाले ‘स्टण्डसाइड’को खेलाडी भएर ‘टिम इभेन्ट’मा प्रथम स्थान हासिल गरेको उनले बताए । पछिल्लो समय गल्फ आयआर्जन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाले पनि खेलाडीको आकर्षण बढेको उनको बुझाइ भनाइ छ । धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि क्याम्पभित्र सन् १९६२ मा १८ होलको गल्फ कोर्स बनेको उक्त कोर्सका सदस्य राजु राईले जानकारी दिए । धरान लाहुरेको सहर भनेर पनि चिनिने भन्दै धरान गल्फ क्लब ब्रिटिसको संस्था नोफिल गिफ्टले स्थापना गरेपछि ब्रिटिस लाहुरेलाई सन् १९६२ हस्तान्तरण गरेको उनले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार