इलाम गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै रेड स्टार झापा अन्तिम चारमा

मंगलबार, २५ मंसिर २०८१
इलाम : इलाम सदरमुकाममा जारी दोस्रो इलाम गोल्डकपको अन्तिम चारमा रेड स्टार झापाले आफूलाई सुरक्षित गरेको छ । मङ्गलवार भएको खेलमा रेड स्टार झापाले मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो । पहिलो हाफको सुरुवातीदेखि दबाबमा राखेको रेड स्टारले खेलको ३५ औँ मिनेटमा आदित्य शाक्यले गोल गर्दे टिमलाई अग्रता दिलाए। खेलको ७० औँ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले १ गोल गर्दे खेललाई बराबरी बनाए । खेलको ८१ औँ मिनेटमा रेड स्टार झापाका पोकु हेङ्ग्रीको फ्रि किक प्रहारलाई नीरज कार्कीले गोल गरे । उक्त गोल नै सेमिफाइनल यात्राका लागि निर्णायक बन्यो । सुरूदेखि नै मछिन्द्रलाई दबाबमा राखेको रेड स्टारले खेल अवधिभर गोल गर्ने पटकपटक अवसर प्राप्त गरेको थियो । खेलको म्यान अफ दि म्याच रेड स्टार झापाका आदित्य शाक्य घोषित हुँदै नगद आठ हजार एक सय रुपैयाँसहित मेडल प्राप्त गरे । पराजित भएपछि मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतिस्पर्धी टिमको खेल राम्रो भएका कारण आफ्नो पक्षमा नतिजा हात नपरेको प्रतिक्रिया दिए । रेड स्टार झापाका प्रशिक्षक सचिन्द्र धिमालले अहिलेको टिम खेलमा फिट हुन नसकेको कारण सोचेअनुसार नभए पनि अन्तिम चारमा आउनु सकारात्मक रहेको बताए । मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार