धरानमा फस्टाउँदै यौन धन्दा, होटेल सञ्चालक सहित १० जना पक्राउ

आइतबार, ०७ पुस २०८१
धरान । धरान उपमहानगरपालिकाबाट यौन व्यवसाय गरेको आरोपमा होटेल सञ्चालक र भारतीय नागरिक सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ धरान १२ मा रहेको शुभकामना लजबाट भारतीय नागरिक सहित १० जनालाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । उक्त लजमा यौन धन्दा भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा १० जना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले बताए । पक्राउ पर्नेमा छिमेकी देश भारतको विहार राज्य अररिया जिल्ला रानीगंज बस्ने ५ जना भारतीय नागरिकहरू रहेका छन् । पक्राउ पर्ने भारतीय नागरिकहरूमा मुकेशकुमार साह, सुरजकुमार महत, कुन्दनकुमार, रोशन कुमार र सञ्जीव कुमार रहेका छन् । भारतीय नागरिकहरू सँगै ३ जना महिला, होटेल सञ्चालक लक्षु श्रेष्ठ र विमल सुनुवार पक्राउ परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । होटेल सञ्चालक लक्षु श्रेष्ठ ३ महिना अगाडी पनि यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेकाहरूको अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउने डिएसपी जबेगुले बताए । गत असोज महिनामा मात्र धरान ८ स्थित सिटी होटेलमा छापा मारेर यौन व्यवसायको आरोपमा होटेल मालिक पेमा ल्हामु शेर्पा सहित ३ जनालाई पक्राउ गरेको थियो भने धरान १२ चतरा लाइनकै श्रेष्ठ होटेलका सञ्चालक जगत श्रेष्ठ सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ४ जना महिला सहित २ पुरुष रहेका थिए । उक्त घटनापछि धरानका केही होटलहरुमा यौन व्यवसाय हुने गरेको खुल्नमा आएको थियो । धेरै जसो युवतीहरूलाई प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी जबेगुले जानकारी दिए । धेरै जसो यौन व्यवसायमा लागेका आर्थिक रूपमा कमजोर महिला तथा किशोरीलाई ललाई फकाई आर्थिक लोभ देखाई होटल व्यवसायीहरूले यौन धन्दामा लगाउने गरेको अनुसन्धानबाट खुलेको डिएसपी जबेगुले बताए । धरानका होटलहरुमा यौन धन्दा चलाएको भनी धेरै उजुरी आउने गरेको डिएसपी जबेगु बताउँछन् । छोटो समयमा राम्रो पैसा कमाउने लोभले कतिपय महिलाहरू आफै पनि यौन व्यवसायमा संलग्न हुने गरेको उनले बताए । पछिल्लो समय इन्टरनेटको कारण पनि पढेलेखेकै युवतिहरू टिकटक, फेसबुक ईन्ष्ट्राग्राम लगायतका अनलाइन एपहरूको माध्यमबाट समेत यौन व्यवसायमा संलग्न हुने गरेको पाइएको प्रहरीको भनाई छ । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनुलाई मानव बेचबिखन र ओसारपसार गरेको मानिएको छ । साथै ललाई फकाई, प्रलोभनमा पारी, झुक्काइ, जालसाजी गरी जबरजस्ती गरी, डर धम्की तथा प्रलोभनमा पारी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा सारेमा मानव ओसारपसार गरेको मानिने यस ऐनमा उल्लेख गरिएको छ । साथै मानिस किन्ने वा बेच्नेलाई बिस वर्ष कैद र दुई लाख रुपैयाँ जरीबाना रहेको छ भने कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार