वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

विहीबार, ०८ साउन २०८२

भरतपुर : चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् भने १७९ वटा घरपालुवा पशु मरेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, तीमध्ये आठ जनाको मृत्यु गैँडाको आक्रमणबाट, दुई जनाको हात्तीको आक्रमणबाट र एक जनाको मृत्यु बाघको आक्रमणबाट भएको हो। त्यसैगरी, ४१ जना घाइते भएका छन्, जसमध्ये ३२ जना गम्भीर घाइते र नौ जना सामान्य घाइते रहेका छन्।

मृतकहरूमध्ये धेरैजसो घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति थिए। निकुञ्जका अनुसार, बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही र गौरीगाई जस्ता वन्यजन्तुको आक्रमणले मानवीय क्षति पुर्‍याएका हुन्।

पछिल्ला पाँच वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा ७३ जनाको मृत्यु वन्यजन्तुको आक्रमणबाट भइसकेको छ भने १६९ जना घाइते भएका छन्। सबैभन्दा धेरै क्षति आर्थिक वर्ष २०७८/०७९ मा भएको थियो, जब बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो।

निकुञ्ज आसपासका स्थानीय बासिन्दा निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँस दाउराका लागि जङ्गल छिर्ने गर्छन्। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले जनचेतनामूलक कार्यक्रम र मेसजाली जस्ता सुरक्षामूलक उपाय अपनाएको छ।

गत वर्षको अवधिमा चितुवाको आक्रमणबाट १४० वटा, बाघको आक्रमणबाट ३७ वटा र अजिङ्गरको आक्रमणबाट दुई वटा घरपालुवा पशु मरेका छन्। त्यस्तै, हात्तीले २३ वटा घरमा क्षति पुर्‍याएको छ भने १३ वटा घरको अन्न भण्डारमा समेत हात्तीले क्षति पुर्‍याएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार