प्याब्सन सुनसरीको १६ औं जिल्ला अधिवेशन इटहरीमा सुरु

बुधबार, १० पुस २०८१
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) सुनसरीको १६ औं जिल्ला अधिवेशन इटहरीमा सुरु भएको छ । बुधवार इटहरीको लायन्स भवनमा प्याब्सन सुनसरी जिल्ला अधिवेशनको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुङ्गाना, प्रमुख सल्लाहकार टीकाराम पुरी प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर ढकाल लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष ढुङ्गानाले प्याब्सनमा आबद्ध सबैले समयसँगै आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताए । 'यो एआईको जमाना हो, यो जमनामा हामीले पनि आफूलाई अद्यावधिक गर्दै जानुपर्छ, हाम्रा स्कुलहरूमा पढाएका विद्यार्थीहरूले च्याट जिपिटी चलाएर तपाईँहरूलाई प्रश्न र प्रति प्रश्न गर्छन् । हामीले पनि सोहीअनुसार आफूलाई अपग्रेड गर्नुपर्छ,' ढुङ्गानाले भने । नेपाली विद्यार्थीहरू अध्ययनको लागि विदेश गइरहेको अवस्थामा उनीहरूलाई नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा अध्ययनको लागि आकर्षित गर्न सकिने अध्यक्ष ढुङ्गानाले बताए । यस्तै सल्लाहकार पुरीले प्याब्सनले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए । 'स्थानीय सरकारसँग विद्यालय शुल्क निर्धारणदेखि, विद्यालय खारेजीसम्मको अधिकार हुन्छ । स्थानीय सरकारसँग नजिक हुने प्याब्सन नगर कमिटी र जिल्ला कमिटीले स्थानीय सरकारसँग समन्वय गरे काम कारबाही अघि बढाउन सजिलो हुन्छ,' पुरीले भने । अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपश्चात् प्याब्सन सुनसरीको नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइने छ । सर्वसम्मत रूपमा नै कार्यसमिति चयनको प्रयास गरिने प्याब्सन सुनसरीका अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार