पाँचथर : फिदिममा जारी फाल्गुनन्द गोल्डकपको बुधबार भएको खेलमा चर्च ब्वाइज फुटबल क्लब काठमाण्डौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा सम्पन्न क्वाटरफाइनल खेलमा प्रतिस्पर्धी विराटनगर सिटी फुटबल क्लबलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्वाइजले ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकपको अन्तिम चारमा पुगेको हो ।
चर्च व्याइजका तर्फबाट ७ समीर तामाङ र विदेशी खेलाडी अर्माण्डा वेडमले ह्याट्रिक (३–३ गोल) भने फोफोना अबायोमीले थप १ गोल गरे ।
चर्च ब्वाइजका समीरले १५, ४६ र ७३ मिनेट, वेडमले ६२, ७५ र ८९ मिनेट तथा अबायोमीले अतिरिक्त समयमा गोल गरेका थिए ।
विराटनगरका तर्फबाट ८६ औं मिनेटमा सुमन ‘चम्लागाईँले १ गोल गर्दै चर्च ब्वाइजलाई क्लिन चिट दिनबाट जोगाए ।
बुधवारको खेल ह्याट्रिक गर्नेमध्ये चर्च ब्वाइजका समीर म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे ।
बिहीबार न्यु स्टार क्लब (एनआरटी) काठमाण्डौँ र सहलेश युवा क्लब सिरहाबीच अन्तिम क्वाटर फाइनल खेल हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।
पुष ६ गते शुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो ।
प्रतियोगिताको फाइनल पुष १५ गते हुनेछ । गोल्डकपको विजेताले १० लाख पाँच सय ५५ रुपैंया र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैंया प्राप्त गर्नेछन् ।
नेपालका १६ औं विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि सुरू भएको फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर स्थगित भएको थियो ।
१० औँ संस्करण पूरा भएपछि खेल स्थगित गरिएको थियो । प्रतियोगितालाई यसवर्ष ११ औँ संस्करणका रूपमा निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया