भोजपुर । भोजपुरको वोखिममा स्कारपियो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पर्यटकीय टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा स्कारपियो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
बिहीबार बिहान भोजपुर नगरपालिका ५, बोखिमको डाडाँटोलस्थित प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पियो सडकबाट खस्दा दुर्घटना हुन पुगेको हो ।
चालकसहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।
घाइते हुनेमा माङ्सेबुङ गाउँपालिका ६, इलामका नवीन कुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले, भोजपुर नगरपालिका ५ की लाक्पादिकी शेर्पा, गौरादह नगरपालिका ७, झापाका झम्क बहादुर घले र देवीकला घले, भोजपुर नगरपालिका ५ की जुनुका राई र राम कुमार राई, धरान २, सुनसरीकी ईहायाराना सुब्बा र धरान ८, सुनसरीका चालक सुदिप लिम्बु रहेका छन् ।
घाइतेमध्ये झम्क बहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल भोजपुर ल्याइएको थियो ।
गम्भीर ४ जना घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए ।
प्रतिक्रिया