पत्रकार महासंघ कोशीको पदस्थापन सम्पन्न, मुख्यमन्त्री भन्छन्–राम्रो कामको पनि प्रचार गर्नुहोस्

विहीबार, ११ पुस २०८१
विराटनगर : नेपाल पत्रकार महासंघ कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार महासंघ कोशी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकार महासंघलाई ओझ बढाउने गरी काम गर्न आग्रह गरे । उनले मुलुकको लोकतन्त्र, शासन व्यवस्था र सुशासनको पक्षमा पत्रकारहरू बुलन्द भएर लाग्नु पर्ने बताए । पत्रकारहरूले सरकारले गरेको राम्रो कामको प्रचार नगर्ने र विपक्षी मात्रै भइरहने हो भने बजारमा भएका झिल्केमिल्के भन्दा फरक नहुने बताए । उनले भने, ‘सरकारले गरेको राम्रो कामको पनि प्रचार गर्नुहोस्, खबरदारी पनि गर्नुभयो भने राम्रो हुन्छ ।’ पछिल्लो समयमा नकरात्मकतालाई मात्रै प्राथमिकता दिएर अघि बढ्ने प्रवृत्ति हाबी हुँदै गएको बताउँदै नकरात्मक कामलाई निरूत्साहन गर्नुपर्ने बताए । उनले आगामी प्रदेश सभाको अधिवेशनमा सञ्चार विधेयक पेश गर्ने जानकारी दिँदै पत्रकारहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समाजमा निराशा उत्पन्न गराएर मुलुकलाई भड्खालोमा हाल्ने प्रवृत्तिकाविरूद्ध पत्रकारहरू उभििनुपर्ने बताए । कार्यक्रममा पूर्वमन्त्रीहरू उपेन्द्र घिमिरे, शम्शेर राई र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भरत खड्काले प्रद्धिवद्धता व्यक्त गरेका थिए भने पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका पूर्वअध्यक्ष विक्रम लुइँटेल, मोरङकी अध्यक्ष सुशीला पाठक, समाजवादी प्रेस संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष विनोद घिमिरे, प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित, महासंघ कोशीका निर्वतमान अध्यक्ष लीलावल्लभ घिमिरे, निवर्तमान महासचिव विवेक गौतम, निर्वाचन समितिका संयोजक यज्ञ शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार