बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

शुक्रबार, १२ पुस २०८१
चितवन : चितवनको सौराहामा जारी १८ औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छन् । आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ वर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प्राप्त गरी बिजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पूजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए । सुन्दरी प्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्याङ्कन गरिएको तिवारीले बताए । उनले नङ फुटे–नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्याङ्कन गरिएको बताए । सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार