सुनसरीको भरौलमा भीम रावलले उद्घाटन गर्ने भनिएको फुटबल एमालेको दबाबमा रोकियो

शनिबार, २० पुस २०८१
सुनसरी : सुनसरीको बराहक्षेत्रस्थित भरौलमा आयोजना गर्ने भनिएको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय भरौल भेट्रान कप फुटबल प्रतियोगिता सत्तारुढ नेकपा (एमाले)को दबाबमा रोकिएको छ । एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले शनिबार उद्घाटन गर्ने भनिएको उक्त फुटबल एमालेकै दबाबमा रोकिएको हो । रावल फुटबल उद्घाटन गर्न भनेर शनिबार दिउँसो भरौल आइपुगेका थिए । तर, उद्घाटन रोकिएपछि उनी त्यत्तिकै फर्किएका हुन् । पार्टीबाट कारबाहीमा परेपछि रावलले ‘मातृभूमि जागरण अभियान’ चलाएर एमालेको भण्डाफोर गरिरहेका छन् । भरौलमा पनि एमालेविरुद्ध अभिव्यक्ति दिनसक्ने सम्भावना रहेकाले एमालेकै नेताहरूकै दबाबमा उनले उद्घाटन गर्ने भनिएको फुटबल रोकिएको स्रोतले जनाएको छ । श्री एयरलाइन्सको जहाजबाट शनिबार बिहान विराटनगर आइपुगेका उनी फुटबल उद्घाटनका लागि आयोजककै गाडी चढेर भरौल पुगेका थिए । आयोजक भरौल भेट्रान क्लबले दुई दिनपछि अर्थात पुस २२ गते फुटबलको उद्घाटन हुने जनाएको छ । आयोजकले मैदानको तयारी पूरा नभएका कारण प्रतियोगिता सरेको जनाएको छ । तर, फुटबल उद्घाटनको मिति सार्नुको मुख्य कारण रावलबाट उद्घाटनको तयारी हुनु नै हो । स्रोतका अनुसार रावलबाट फुटबल उद्घाटन नगराउन एमालले दबाब दिएको थियो । आयोजक भेट्रान फुटबल क्लबका अध्यक्ष विमल कार्कीले रावल सहभागी हुने भनिएपछि एमालेले सहभागी नगराउन दबाब दिएको बताए । एमालेको दबावका कारण प्रतियोगिता दुई दिनपछि सार्नु परेको उनको भनाइ छ । अध्यक्ष कार्की पूर्वराष्ट्रिय खेलाडी हुन् । ‘एमालेका साथीहरूले धेरै दबाब दिए । खेलकुदको उद्घाटनमा विवाद किन गर्नु भनेर हामीले पनि मानिदियौं । हामीले कुनै आमसभा त गरेको होइन । नबुझेपछि के लाग्छ र ?,’ उनले भने । एमालेका केन्द्रीयस्तरका नेताले पनि रावल सहभागी हुने भनेपछि कार्यक्रम सार्न दबाब दिएको कार्की बताउँछन् । राजनीतिक दबावका कारण प्रतियोगिताको उद्घाटन मिति सार्न बाध्य हुनु परेको उनको भनाइ छ । ‘खेलकुदको उद्घाटनमा पनि राजनीतिक दबाब झेल्नुपर्ने अवस्था आयो,’ उनले भने । आयोजक क्लबका सचिव अधिकलाल चौधरीले मैदानमा धेरै पानी पटाएका कारण प्रतियोगिता दुई दिनपछि सरेको बताए । ‘हिजो केटाहरूले काम गर्दै थिए । धेरै पानी लगाएर हिलो बनाएछन् । आज (शनिबार) गेम खेलाउन सकेनन्,’ चौधरीले भने । उनले राजनीतिक हिसाबले कडा दबाब भने नआएको दाबी गरे । ठूलो दबाब नआए पनि रावललाई ल्याएर उद्घाटन गर्ने भनिएपछि एकखालको ‘प्रेसर’ परेको चौधरीले बताए । काठमाडौंबाट रावल सोही कार्यक्रममा सहभागी हुन भनेर आएका हुन् । तर, एमालेको दबाबमा उद्घाटन स्थगित भएपछि उनी आफ्ना समर्थक भेटेर फर्किएका छन् । एमाले सुनसरीका सचिव राम कोइराला प्रतियोगिता सार्नका लागि पार्टीले आयोजकलाई दबाब नदिएको बताउँछन् । ‘आज पार्टीको खेलुकद महासंघको कार्यक्रम थियो । पार्टीका युवाहरू महासंघको कार्यक्रममा सहभागी भएका छन्,’ उनले भने, ‘मैले दबाब दिएको होइन । साथीभाईलाई टुटफुट र विभाजनको पक्षमा कोही आउँछन् भने त्यतातिर चाहिँ तपाईंहरू नजानुहोस् भन्या हो ।’ पार्टीका तर्फबाट कुनै दबाब नदिएको बताउँदै कोइरालाले आयोजकलाई फुटबलको उद्घाटन १–२ दिनपछि गर्नुपर्छ भनेर सल्लाह दिएको हुनसक्ने उल्लेख गरे । पार्टीका तर्फबाट फुटबलकै उद्घाटन रोक्ने गरी दबाब दिन नसकिने कोइराला बताउँछन् । रावललाई विराटनगर विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र नेकपा (एकीकृत समाजवादी)का नेता कार्यकर्ताले स्वागत गरेका थिए । उनलाई नेकपा एसका केन्द्रीय सदस्य ओसिम आलमसहितका नेता कार्यकर्ता तथा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक बचाउ महाअभियानका संस्थापक केन्द्रीय सदस्य सतिश पोखरेललगायतले विमानस्थलमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार