प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु

शनिबार, २० पुस २०८१
भक्तपुर : नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता आज सुरु भएको छ । आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा सुरु भएको प्रतियोगिताको सङ्घीय सांसद प्रेम सुवालले उद्घाटन गरे । राजनीतिले निःस्वार्थ रूपमा सेवा गर्न सके मात्रै देश समृद्ध बन्ने उहाँले बताउनुभयो । नेमकिपाका केन्द्रीय सचिवसमेत रहेका सुवालले कक्षा १२ सकिनेबित्तिकै युवा विदेशिने भन्दै देशका अशक्त, बुडापाका, महिला मात्रै रहने अवस्था आउने खतरा बढेकाले देशको राजनीति सुधार गरेर जानुपर्नेमा जोड दिए । स्थानीय सरकारको प्रभावकारी कामले सबै राजनीतिक दलले सिक्ने अवस्था बनाउनुपर्ने भन्दै उनले परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बागमती प्रदेशमा पहिलो पटक यसप्रकारको प्रतियोगिता आफ्नो नगरपालिकाले गरेको बताउँदै यसले प्रदेशभरी धिमे बाजाको संरक्षण गर्ने विश्वास व्यक्त गरे । उनले भने, “नगरपालिकाले एक वर्षभित्र आयोजना गर्न लागिएको नगरकोट महोत्सवको प्रचारप्रसारका साथै धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले आज यो प्रतियोगिताको आयोजना गरेका हौँ । यसले समग्र चाँगुनारायणको पर्यटन, आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउँछ भन्ने विश्वास लिएका छौँ ।” प्रतियोगितमा प्रथम हुनेलाई नगद ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने जनाउँदै नगरप्रमुख खत्रीले द्वितीय हुनेलाई २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या र सिछ्या एकरएक थान र तृतीय हुनेलाई नगद १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमे बाजा र भुछ्या एक–एक थान प्रदान गरिने उनले बताए । सान्त्वना हुनेलाई पाँच हजारसहित शिल्ड, प्रमाणपत्र धिमे बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमे बाजा एक थान, उत्कृष्ट छैठौँदेखि १०औँ स्थानसम्मकालाई भुछ्या एकरएक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ । बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न जिल्लाका स्थानीय पालिकाका ५५ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका छन् । चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले धिमे बाजा प्रतियोगिता आयोजना गरिएको चाँगुनारायण–९ ताथलीका वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले बताए । उनले नगरभित्रका १ देखि ९ वडासम्मका धार्मिक, ऐतिहासिक सम्पदाको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा इतिहास एवं संस्कृतिविद प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले प्राग ऐतिहासिक सम्पदाको उद्गमस्थल चाँगुनारायण रहेको चर्चा गर्दै यहाँ अनगिन्ती धार्मिक एवं ऐतिहासिक सम्पदा रहेकाले सबैको सहकार्य र समन्वयबाट ती सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । प्रतियोगिता आज रातिसम्म सकिने जनाउँदै पुरस्कार आइतबार वितरण गरिने आयोजक चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार