भवनहरूको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन उपप्रमुख डंगोलको निर्देशन

सोमबार, २२ पुस २०८१
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले भवनहरूको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउनसहरी व्यवस्थापन विभागलाई निर्देशन दिएकी छन् । सोमबार कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरूसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरुबाट हुने भवन नक्सा स्वीकृतीको प्रक्रियाका बारेमा जानकारी लिँदै भवनको नक्सा स्वीकृत गर्ने प्रणालीबाट हार्ड कपीसहितको फाइल विस्थापन गर्न निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘डिजिटल कपी र हार्ड कपी दुवै प्रयोग हुँदा कार्य प्रणालीमा विकृति आउने साना बाटाहरु रहने भए । दुईमध्ये कुन आधिकारिक भन्ने विषयमा प्रश्न आउने भयो । विद्युतीय नक्सा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएका छौँ भने हार्ड कपी विस्थापन गरौँ । विवरण सुरक्षाका लागि हार्डकपी चाहिने हो भने, स्वीकृत भएको फाइल प्रिन्ट गरेर सुरक्षा गरौँ ।’ साथै उनले विद्युतीय नक्सा पास प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याएको समेत बताइन् । त्यस क्रममा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेले, इबिपिएस (इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम) मा आधारित नक्सा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्था रहेको उल्लेख गरे । लामिछानेका अनुसार चालु आर्थिक वर्षका यस अवधिमा ४७८ वटा भवन नक्सा स्वीकृत भएका छन् । तला थप गर्ने १५ वटा नक्सा स्वीकृत भएका छन् । १ हजार ५९ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी गरिएको छ । एक सय दुई वटा भवनको नक्सा नामसारी गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा एक हजार तीन सय २० वटा भवनको नक्सा स्वीकृत भएको थियो । ६६ वटाको तला थप गर्ने नक्सा स्वीकृत भएको थियो । तीन हजार सात सय ४५ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी भएको थियो । यस्तै एक सय ५५ वटाको नक्सा नामसारी भएको थियो । पाँच हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा स्वीकृत (डिपिसीसम्मको) नक्सा वडाबाटै स्वीकृत हुन्छ । १० हजार वर्गफुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम हुने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार