पूर्वमा चिसो बढ्दो, कोशी सरकारको के छ तयारी ?

बुधबार, २४ पुस २०८१
इटहरी । कोशी प्रदेश सहित मुलुकका विभिन्न स्थानहरूमा हुस्सु, कुहिरो, हिमपातका साथै चिसो हावाका कारण जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले समेत सितलहरको जोखिम भएकाले सम्बन्धित निकायका साथै सर्वसाधारणलाई सतर्क अवस्थामा रहनका लागि जानकारी गराएको अवस्था रहेको छ । महाशाखाका सूचना अधिकारी दिनकर कायस्थले कोशी प्रदेशका जिल्लाहरूमा बिहानको समयमा चिसो बढ्ने साथै दिउँसो हट्ने सम्भावना रहेको बताए । केही दिन सम्म यस्तो अवस्था रहने भएकाले सतर्क रहन सर्वसाधारणका साथै सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन् । ‘महाशाखाले शीतलहरूका बारेमा चैँ बुलेटिन जारी गरिहालेको अवस्था रहेको छैन । शीतलहरूका लागि सम्बन्धित ‘क्राईटएरिया’ पुग्नुपर्ने हुन्छ । त्यो भने नपुगेकाले सित लहरको सम्भावना तत्काल नरहे पनि सम्भावना भने छ ।’ उनले भने । चिसोका कारण कोशी प्रदेशका विभिन्न स्थानमा शैक्षिक संस्था पनि बन्द गरिएको अवस्था रहेको छ भने, यातायात मजदुरहरूलाई समस्या भइरहेको अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा हवाई उड्डयनमा समेत क्षणिक असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन गरेको अनुरोध छ । कोशी प्रदेशमा विराटनगर विमानस्थलका साथै झापाको भद्रपुर विमानस्थल भने नियमित सञ्चालन भइरहेको अवस्था रहेको त्यहाँका अधिकारीहरूले बताएका छन् । कोशी सरकारको के छ तयारी ? सम्बन्धित निकायका साथै सर्वसाधारणलाई सतर्क अवस्थामा रहनका लागि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गर्दै गर्दा शीतलहरूका सम्बन्धमा कोशी प्रदेश सरकारले भने कुनै प्रतिकार्य योजना बनाएको छैन । विपद् प्रतिकार्यका साथै नागरिकका दैनिक जनजीविकासंग प्रत्यक्ष जोडिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदिप वेश्राले भने,‘अहिले प्रतिकार्य योजना नै भनेर चैं आएको अवस्था छैन । हामीले विगतका वर्ष जस्तै शीतलहरूमा नागरिकलाई आवश्यकता भए अनुसार स्थानीय तहका साथै जिल्ला विपद् व्यवस्थापन शाखाको माग अनुसार हामी सम्बन्धित निकायमा कम्मल लगायतका सामग्री उपलब्ध गराउँछौँ ।’ मन्त्रालय श्रोतका अनुसार नागरिकलाई वितरण गर्नका लागि भनेर कम्मल लगायतका सामग्री भने खरिद गरेर राखिसकिएको छ ।

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार