धनकुटा : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् ।
भ्रमणको क्रममा उनले कार्यालय भवन, सम्पूर्ण शाखाहरू तथा हिरासत कक्षको निरीक्षण गरे ।
निरीक्षणपश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालय प्रमुखहरूसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिए ।
निर्देशनको क्रममा उनले समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न तथा आपसी भाईचारा तथा सहयोगी भावनाको विकास गरी आचरण तथा व्यवहारमा सुधार ल्याउन निर्देशन दिए ।
आफ्नो काम, कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।
खासगरी धनकुटा जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाएको र प्राकृतिक रूपमा आफैँ उम्रिएका गाँजाको बोटहरू नष्ट गर्न तल्लो तहसम्मको प्रहरी युनिटहरू आ–आफ्नो क्षेत्रमा परिचालित हुन र ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए ।
साथै लामो तथा छोटो दुरीको गस्ती परिचालन गरी दुरदराजमा रहेका नागरिकहरूमा प्रहरी सेवाको पहुच पुर्याउनुका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरी समाजमा हुने विभिन्न प्रकारका घटना तथा अपराधहरूलाई निरुत्साहित गर्न तथा फरार प्रतिवादी पक्राउ, चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिए ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरूसहितबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया