ठगी आरोप लागेका ऋषिकेश पोखरेलका पूर्वस्वकीयविरुद्ध पाँच दिन म्याद थप

विहीबार, २५ पुस २०८१
विराटनगर : ठगी आरोपमा पक्राउ परेका अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप भएको छ । न्यायाधीश पारसमणि पोखरेलको इजलासले पाँच दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अनुमति पाएसँगै अनिललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ । ठगी मुद्दाको अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद लिएको थियो । एमबीबीएसमा भर्ना हुनका लागि नाम निकालिदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा रंगेली नगरपालिका–२ घर भइ काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल बिहीबार पक्राउ परेका थिए । उनी प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव हुन् । पक्राउ गरेर प्रहरीले अनिललाई म्याद थप गर्न अदालत लगेको थियो । ठगी गरेको विषय बाहिरिएपछि ऋषिकेशले अनिललाई जिम्मेवारीबाट हटाएका थिए । अदालतबाट पुर्जी जारी गरेर उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेका अनिल नेकपा (एमाले)मोरङका जिल्ला सदस्यसमेत हुन् । एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा रकम लिएको आरोप उनलाई लागेको हो । यसैबीच सहकारी ठगी आरोपमा फरार रहेकी ऋषिकेशकी पत्नी अञ्जला कोइराला बुधबार मोरङ अदालतमा हाजिर भएकी थिइन् । अदालतको आदेशपछि उनी बुधबार नै १० लाख धरौटी बुझाएर छुटेकी छन् । बिहीबार बिहान ऋषिकेशका पूर्वस्वकीय सचिव अनिल पक्राउ परेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार