सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउने मन्त्रीको लक्ष्य, प्रधानमन्त्रीले लिए ‘ब्रिफिङ’

शुक्रबार, २६ पुस २०८१
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे आज ‘ब्रिफिङ’ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा अवगत गराएका थिए । छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालयमार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो । मन्त्रालयले जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको असरलाई सम्बोधन गर्दै वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयको ध्यान केन्द्रित भएकाले आवश्यक बजेट सुनिश्चितताका लागि माग गरेको छ । सो क्रममा प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहज रूपमा खानेपानी पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिए । मन्त्री यादवले ग्रामीण तथा सहरी क्षेत्रका खानेपानी योजनालाई तीव्रता दिँदै सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यमा केन्द्रित भई कार्यहरू भइरहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार