काठमाडौँ । पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतले भन्सारमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने बताएका छन् ।
आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले कृषिजन्य वस्तुमा देखिएको भन्सार सम्बन्धी समस्या अर्थ मन्त्रालय र भन्सार विभागले समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘भन्सारमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने देखिन्छ । कृषिजन्य वस्तु, भारतबाट आयातको कुरा गर्न, अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्न हौसिन्छौँ । हौसिने जुन प्रकृति छ त्यसमा धेरै नै विचार पुर्याउनुपर्नेछ । भन्साररहित भनेर त हस्ताक्षर तर गर्यौँ तर त्यो पालना गरेको पाइँदैन । नेपालले मात्र अरू देशको आयातमा मात्रै छुट दिनुपर्ने अवस्था आयो ।’
यसै गरी उनले भन्सार सम्बन्धी प्रक्रियागत हिसाबले अगाडि जानुपर्ने बताए । उनले भन्सारमा सबै सदस्य राष्ट्रहरूले सहमत नभइसकेपछि नेपालले मात्र भन्साररहित भनेर छाप गर्न उचित नहुने बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले भन्सारको व्यवस्थापनमा सरकार बढी जिम्मेवार हुनुपर्ने बताए । सरकारले कस्टम रेटमा ख्याल नगर्दा बिचौलियाको प्रभाव हुने गरेको औँल्याए ।
सांसद ज्ञानेन्द्र शाहीले क्वारेनटाइनको नियमन सरकारले गर्नुपर्ने भएकाले यसलाई विधेयकमै लेख्न आग्रह गरे । भारतीय भन्सार नेपाली उत्पादनलाई दुःख दिने गरेको बताए । अर्थ समितिका सभापति सन्तोष चालिसेले विधेयकमाथि छलफल गर्न विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्ने बताए ।
प्रतिक्रिया