प्रधानमन्त्री ओली भन्छन्- अर्थतन्त्रलाई सबल बनाउन ध्यान दिएका छौँ

बुधबार, ०२ माघ २०८१
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारले विशेष ध्यान दिएको बताएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाल उद्योग वाणिज्य महासंघसहित निजीक्षेत्रका संघ-संस्थाका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले सुशासन र विकाससँग सम्बन्धित व्यवहारिक र अनुकूल नीति ल्याइए समृद्धि असम्भव नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार ढल्दैछ भनेर बजार हल्ला चलाइए पनि सत्ता गठबन्धनमा रहेका दलहरू आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढंगले कदम चालिरहेको बताए । प्रधानमन्त्री ओलीले देश बनाऔँ भन्ने भावना सबैमा रहेकाले आफ्ना स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेहरूबाहेक आम मान्छेले विकास र  सुशासन चाहेको बताए । उनले राम्रो काम गर्ने सरकारको सदासयतालाई सकारात्मक रूपमा निजी क्षेत्रले लिएकोमा खुसी व्यक्त गरे । भेटमा नेपाल उद्योग वाणिज्य महासंघसहित निजीक्षेत्रका संघसंस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री ओलीसँगको भेटमा निजीक्षेत्रका तर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरू स्वागतयोग्य भएको बताएका थिए । भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २९ पुसमा चारवटा अध्यादेश जारी गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार