'एउटा शिक्षक विद्यार्थीसम्म पुग्दा डर होइन‚ सुरक्षा लिएर पुग्नुपर्छ'

शनिबार, ०५ माघ २०८१
शिक्षक र विद्यार्थीको नाता नि:स्वार्थ प्रेम र सफल भविष्य निर्माणको अनिवार्य नाता हो। विद्यार्थीका पारिवारिक अग्रजहरु भित्रकै उसका जन्मदिने आमा बाबा पछिको उनीहरुलेजस्तै हेरचाह गर्ने एउटा अभिभावक हो, शिक्षक।उनीहरुको हरेक असल व्यवहार,आचरणको मार्गदर्शक हो शिक्षक। बिहान विद्यालय प्रवेश गरेदेखि ती दृश्यहरु लोभलाग्दा हुन्छन्। उनीहरुको त्यो माया सम्मान ले आफूलाई गर्व महसुस हुन्छ। कक्षा कोठामा प्रवेश गर्न नपाई `गुरुआमा नमस्कार !´ भन्दै नानीबाबुहरु अगाडि देखा पर्दा थकान मेटिन्छ । उनीहरूको हरेक कियाककलापले खुसी महसुस गराउँछ। कक्षाकोठामा प्रवेश गर्दा गृहकार्य देखाउदै `गुरुआमा हिजो भन्दा आज राम्रो लेखेको छु´ भन्दै ती सुन्दर अक्षरहरु देखाउदा सार्है गर्व लाग्छ । अहो ! कस्तो राम्रो संस्कार। विद्यालयमा भएका हरेक सीप ज्ञानहरु रमाएर सिक्ने, झुकेर नमस्कार गर्ने, साथीलाई सहयोग गर्ने, सामूहिक अध्ययन गर्नेजस्ता व्यवहारले पनि हाम्रा विद्यार्थीप्रति गर्व गर्न मन लाग्छ । परीक्षाले दिएको नतिजा औपचारिक डिग्रिको एउटा प्रमाण अवश्य हो, तर अनुशासन, नैतिकताजस्ता आचरणले मानिसलाई कहिल्यै असन्तुष्ट हुन दिदैँन । विद्यार्थीको यो गतिविधिले गर्व महसुस हुन्छ । विद्यार्थीहरूको मुहारमा खुसी देख्दा मन प्रफुल्लित हुन्छ । उनीहरूको हसिँलो अनुहार, निर्दोष आँखा, सुःकोमल हातहरु, मनमा उमङ्ग उत्साह बोकेर केही गर्नुपर्छ भन्ने आशा र आकांक्षा बोकेर अगाडि बढेका ती पाइलाहरु देख्दा अत्यन्तै गर्व लाग्छ। मलाई लाग्छ एउटा शिक्षक विद्यार्थीसम्म पुग्दा डर होइन‚ सुरक्षा लिएर पुग्नुपर्छ । घृणा, भेदभाव बोकेर होइन‚ सम्मानसहित जानुपर्छ भन्ने लाग्छ। भनिन्छ, ‘विद्यार्थी भनेका देशका कर्णधार हुन् । जसरी यिनको अनुहार फरक-फरक हुन्छ, त्यसरी नै गुण पनि फरक फरक हुन्छ ।’ बालक जन्मदा फरक-फरक क्षमता लिएर जन्मिएको हुन्छ । त्यसैले कसैलाई नेपाली विषय अफ्ट्यारो लाग्छ । कोही अङ्ग्रेजीमा फेल हुन्छन् । कसैलाई गणित सजिलो लाग्छ भने कसैलाई चित्रकला मनपर्छ । एउटा कक्षाकोठामा फरकफरक रुचि र क्षमता भएका विद्यार्थी सहभागी हुन्छन् । सबैले पढाइमा उस्तै रुचि राख्दैनन् । पहिलो बेन्चमा बस्ने विद्यार्थी र लास्ट बेन्चमा बस्ने विद्यार्थीकै रुचि भिन्न हुन्छ । भिन्न रुचि हुन्छ भन्ने थाह पाउनु नै शिक्षकको कर्तव्य हो। मलाई लाग्छ, विद्यार्थी कहिल्यै फेल हुँदैनन् । फेल हुन्छ त केवल शिक्षक । त्यसैले असल शिक्षक त तिनै हुन्, जसले विद्यार्थीको मनोभावना बुझेर फरक फरक क्षमता र रुचि पढेर पढाउने गर्दछन् । त्यस्तै पढाइ र सिकाइले सफलता हात पार्छन् । शिक्षकको बानीव्यहोरा आचरण र जीवन पद्धतिको प्रत्यक्ष प्रभाव विद्यार्थी, समाज, समुदाय, र राष्ट्रमा पर्दछ । त्यसैले असल मानव र व्यक्तित्व विकास गर्न शिक्षकले प्रभावकारी भूमिका खेल्नुपर्दछ । गुरु र चेलाको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्दछ । नदी र पुलजस्तो हुनुपर्दछ, माझी र बटुवाजस्तो हुनुपर्दछ, आमाबावु र छोराछोरी जस्तो हुनुपर्छ । म हरेक दिन ससाना नानी बाबुहरूसँग रमाउँछु, उनीहरूको सफलतामा खुसी हुन्छु । असफलतामा भने एक्लै बसेर रुन्छु । पुनः जागरुक भएर असफलतालाई सफलतातर्फ धकेल्ने योजना बनाउछु । उनीहरु खुसी हुँदा सँगै खुसी हुन्छु । मलाई लाग्छ विद्यार्थीहरू निर्धक्क मेरो सामु आउन सकुन् । र आफ्ना कुरा भन्न सकुन् । मलाई शिक्षिका हैन आमा जस्तै सम्झिउन्। म उनीहरुलाई सधैँ खुसी बनाउन सकुँ । उनीहरूको सफलतामा सधैं रमाउन सकुँ ... । ढकाल इटहरीस्थित पाथिभरा सेकेण्डरी बोर्डिङ स्कुलकी शिक्षिका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार