विचार : सामाजिक एकताको पर्व गौरा

आइतबार, १५ भदौ २०८२

काठमाडौँ : पश्चिम, हिमाल, पहाड तराई सबैका आ–आफ्ना तर फरकफरक चालचलन तथा संस्कृतिहरू छन्, जसले आ–आफ्नो समाजलाई एकताको सूत्रमा बाँधेको छ । आपसमा सद्भाव कायम गरेको छ, जुन नेपालीको पहिचान बनेको छ । यहाँ कुरा गर्न खोजिएको प्रसङ्ग हो, सुदूरपश्चिममा मनाइने गौरा पर्वको । देशका अन्य भू–भागजस्तै सुदूरपश्चिम क्षेत्रको पनि आफ्नै अलग्गै कला, भाषा, तथा संस्कृति रहेको छ, जुन आफैँमा महत्वको विषय बनेको छ ।

गौरा दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी, बझाङ, अछाम र कैलाली तथा मध्यपहाडी जिल्लाहरूमा हर्षोल्लासमय तरिकाले मनाइन्छ । हिन्दु धर्ममा आधारित भएकाले गौरा पर्व नेपालमा मात्र नभएर भारतका कुमाउ, हिमालय प्रदेश, कन्या कुञ्ज, गुजरात आदि क्षेत्रमा पनि मनाइन्छ । यस क्षेत्रका पहाडी जिल्लामा गौरा पर्व मौलिक रूपमा मनाइन्छ । जिल्लाअनुसार मनाइने विधि भने फरकफरक छ । 

गौरा विशेषगरी भदौ महिनामा पर्छ । तर तिथिअनुसार कहिले साउन र कहिले असोजमा पनि पर्छ । गौरा कति दिनसम्म मनाइन्छ भन्ने कुरामा भने एकरुपता पाइँदैन । पञ्चमीमा बिरुणा भिजाउने, सप्तमीमा गौरा भित्र्याउने र अष्ठमीमा पूजा गर्नेमा समानता पाइन्छ तर गौरा बिर्सजन गर्ने मिति र तिथि फरकफरक हुने गर्दछ । कुनै ठाउँमा पाँच दिनसम्म, कुनै क्षेत्रमा सात या दश दिनसम्म पनि गौरा पर्व मनाइन्छ । गौरा पर्व लम्ब्याउनुका कारण देउडा लामो समयसम्म खेल्नु हो । दिनभरि काम गरी रातभरि देउडा खेल्ने गरिन्छ । गौरा पर्व महिलाहरूले मात्र मनाइने पर्व हो । गौराको सबै प्रकृया तथा विधिमा महिलाको मात्र सहभागिता रहने गर्दछ । तर, पुरूषले देउडा, धुमारीलगायतका परम्परागत खेल भने खेल्ने चलन रहेको छ । 

गौरा (गोःरा) कहिलेदखि मनाउन थालिएको हो भन्ने यकिन तथ्य कतै भेटिँदैन । यो पर्व गौरी, महेश्वर र हिमालय पर्वतसँग जोडिएकाले परापूर्वकालदेखि मनाउँदै आएको हो भन्ने अनुमान गर्न सकिन्छ । धार्मिक कथाअनुसार पार्वतीले भगवान शिवलाई पति पाउँ भनी व्रत लिएको र सो व्रतपछि पार्वतीले शिवजी पति पाएको भन्ने विश्वासमा गौरीअर्थात् गौराको उपासना बसी व्रत लिन थालेको भनाइ छ । तर यो भनाइसँग गौरा मनाउने तरिका भने त्यति मेल खाँदैन किनभने गौरामा विवाहित महिलाले व्रत बस्ने चलन छ ।

तर, गौरा बनबाट घरभित्र अविवाहित कन्याले ल्याउने गरिन्छ । यस तथ्यलाई आधार मान्दा गौरीले विवाह हुनुभन्दा पहिले शिवजी वर पाउँ भनी व्रत लिएको र शिवजी पति पाएपछि पतिको दिर्घायुको लागि व्रत बसेको अनुमान लगाउन सकिन्छ । गौरा अविवाहित कन्याले भित्र्याउने तर पूजा र व्रत चाँहि विवाहित महिलाले मात्र बस्ने तथ्यले यसलाई पुष्टि गर्दछ । गौराको व्रत बस्ने महिलाले पतिको दीर्घायुको कामना गर्दछन् ।  

गौरा पर्व भाद्र शुक्ल पक्षमा प¥यो भने उज्याली गौरा र कृष्ण पक्षमा प¥यो भने अन्यारी (अध्यारी) गौरा भनिन्छ । पहिलोचोटी गौराको व्रत बस्नका लागि उज्याली गौरा उत्तम मानिन्छ । गौराको व्रत बस्नुको अर्थ पुरूषको जनैजस्तै महिलाले दुब्धागो (पबित्र शुद्ध डोरी) लगाउनु हो । सातओटा रङहरूलाई विभिन्न देवताको प्रतिकको रूपमा लिइन्छ ।

उदाहरणका लागि कालो रङलाई महाकाली, रातो रङलाई लक्ष्मी, सेतो रङलाई सरस्वतीको प्रतीकको रूपमा लिइन्छ । यो विवाहित महिलाका लागि अनिवार्य हुन्छ । दुब्धागो लगाएपछि लुगा फेरेर खाने (भान्सा खाने) ङ र चोखो भइन्छ भन्ने मान्यता रहेको छ । दुब्धागोमा दुबोसहित सातवटा रङका धागो हुन्छन् । विवाहित महिलाले शौैभाग्यको प्रतीकको रूपमा दुब्धागो लगाउने गरेको धार्मिक पुराणमा वर्णन गरेको पाइन्छ ।
    
गौरा भाद्र पञ्चमीको दिनबाट सुरू हुन्छ । पञ्चमीका दिन बिरूणा भिजाउने गर्दछन्, जसलाई गौरा पर्वमा शुभ सङ्केतको रूपमा लिइन्छ । बिरूणामा पाँचवटा अन्नहरू केराउ, गुराँस, मास, गहत र गहुँको मिश्रण हुन्छ । गाउँभरीका महिलाहरू पँधेरोमा जम्मा भई सगुन ९भक्ति गीत० गाउँदै बिरूणा धुने गरिन्छ । बिरूणा धुनलाई उपासना बस्ने चलन छ । तर, गाउँमा जुठो परेमा (मान्छे मरेमा) बिरूणा राखिँदैन । सुत्केरी तथा महिनावारी भएकोे घरमा पनि बिरूणा राख्ने चलन छैन् । बिरूणालाई भगवान्को प्रसादका रूपमा लिने भएकाले चोखो भएर मात्र राख्ने चलन छ । 

सप्तमीको दिन गौरा पर्वको महत्वपूर्ण दिन हो । किनभने गौरा भित्र्याउने दिन हो । सप्तमीको दिन अविवाहित छोरीचेलीहरू पाखामा उम्रेको धानको बिरूवा, सावा, दुबो, तिल र कुशबाट निर्मित मानवाकृर्ती गौराअर्थात् पार्वतीको मूर्ति निङ्लाको डालोमा गौरा घरमा भित्र्याइन्छ । गौराको हात र टाउको साँवा मोडेर बनाइन्छ । बाहिरबाट रेशमी कपडाले सजाइन्छ । गौरालाई गौराघर (गोरेघर) भित्र ल्याइसकेपछि पूजा कोठमा राखिन्छ । दिउँसो १२ बजे पछि धार्मिक चलनअनुसार सप्तमीको व्रत बसेका विवाहित महिलाहरूले महादेव तथा गणेशको मूर्तिलाई थालीमा राखेर पूजा गर्दछन् ।

सप्तमीको प्रतीकका रूपमा सातवटा गाँठा (सात ठाउँमा बाँधेको) भएको धागोको डोरी सप्तमी धागो लगाएपछि मात्र खाना खाने चलन रहेको छ । सोही रातभरि गौरा खेल्ने ठाउँ (खलो) मा सबै जना भेला भई रातभरि जाग्राम बस्छन । व्रतालु महिलाले विभिन्न देवीदेवताको कथावाचन, फाग तथा सगुन गाउने गर्दछन् । 

गौराको दोस्रो दिनलाई अठ्वाली भनिन्छ । अष्टमीको दिन तथा अठ्वालीको समापनमा सबैले उक्त मूर्तिमा नयाँ दुब्धागो लगाउँछन । पुरानो दुब्धागो त्यही गौराको मूर्तिमा बाँधेर अन्तिम दिन गौरासँगै समापन गर्दछन् । अठ्वालीको दिन सगुन र फाग स्थानीय भाकामा गाइन्छ । अठवाली गाउनलाई एक घण्टादेखि लिएर तीन घण्टासम्म समय लाग्दछ ।

गौरापूजा गर्दा महादेव मूर्तिलाई पूजा सामग्रीले सजाइएको हुन्छ । सप्तमीमा भित्र्याएको गौरा अष्टमीको दिन विधिवत् रूपमा पाठपूजा गरी बाहिर ल्याइन्छ । गौरा बाहिर ल्याइसकेपछि महिलाहरूले गौरा नाच नाच्ने तथा फाग सगुन गाउँछन् । गौराको पाठपूजा गरी सकेपछि बेलुकी गौरालाई पुनः गौराघरभित्र राखिन्छ । अष्टमीको दिन पनि महिलाहरू उपासना बस्ने गर्दछ । 

प्रायः जस्तो ठाउामा गौराको तेस्रो दिन बिर्सजन (सेलाउनु) गर्दछन् । गौरा सेलाउनुभन्दा अगाडि गौरामा चढाएका फलफूल तथा बिरूणा सफा चाँधरमा राखी आकासतिर फालिन्छ । स्थानीय भाषामा यसलाई फलफड्काउनु भन्ने गरिन्छ । फालिएका फल भुइँमा नखस्दै आकासबाटै समात्न सक्यो भने मनले सोचेको पूरा हने विश्वास गरिन्छ । यसकारण आकासतिर फल फालेपछि समात्नलाई मानिसको घुइँचो लाग्छ । अन्तमा गौरालाई पवित्र धार्मिकस्थलमा समापन गर्दछन् । गौरालाई एक वर्षका लागि बिदाइ गरेपछि रातभरि डेउडा खेल खेल्छन् । 

गौरा समापन (सेलाएको) दिन महिलाहरूले बिरूणाले परिवार तथा आफन्तको शिरमा पूजा गरी दीर्घायुको कामना गर्दछन् । बिरूणाले पूजा गर्ने कार्य सम्पन्न भए पछि औपचारिक रूपमा गौराको व्रत समापन भएको मानिन्छ । पञ्चमीको दिन भिजाएका बिरूणा भुटेर खाने गरिन्छ । बिरूणालाई गौरा देवीको प्रसादका रूपमा लिने गरिन्छ । बिरूणालाई आफन्त तथा नातागोतालाई बाँडिन्छ । जसले एक अर्काप्रतिको रिसराँग हटाई आत्मियता बढाउँछ । 

गौरा पर्वमा महिला र पुरूष दुवैका लागि महत्वपूर्ण पर्व हो । महिलाहरूले गौरा भित्र्याउने तथा पूजा गर्ने गरे पनि पुरूषहरूले पनि डेउडा, चैत (स्थानीय लयमा भगवान् तथा वीरताका गाथा गाउने तरिका), धुमारी, छलो (हात तथा खुट्टाको प्रयोग गरी युद्ध कौसल प्रदर्शन गर्ने कला) लगायतका खेलहरू खेल्छन् । कुनै ठाउमा पुरूष पुरूष बीच डेउडा खेलिन्छ भने कुनै कुनै ठाउँमा महिला तथा पुरूषको बीचमा डेउडा खेल्ने गर्दछन् । गौरा सुरू हुनुभन्दा एक महिना अगाडिदेखि नै राति डेउणा खेल्ने गरिन्छ ।

गौरा पर्वलाई सरसर्ती हेर्दा सांस्कृतिक पर्वका रूपमा मात्र हेरिन्छ । तर यस पर्वले समाजिक एकतालाई मजबुत बनाउने काम गरेको छ । समाजलाई एकसूत्रमा बाँधेको छ । समाजको संरचनालाई बलियो बनाई एकसूत्रमा बाँधी सामाजिक सद्भाव कायम राखेको छ । घरपरिवार धान्नका लागि वर्षभरि भारतका विभिन्न सहरमा काम गर्न गाउँलेहरू घर फर्कन्छन् । विविाह गरेका चेलीहरू माइती आउँछन् ।

परिवारमा खुसी आउछ । गौरा सामूहिक रूपमा मनाउने पर्व भएकाले यसले समाजिक सद्भावलाई पुर्नताजकी गर्दछ । देउणा, चैत तथा धुमारी जे खेले पनि यी सबै सामूहिक खेल हुन् । एकअर्कासँग अँगालो मारेर खेल्ने गरिन्छ । जसले हामी एक हौँ भन्ने सन्देश दिन्छ । महिलाले खेल्ने खेल र फाग तथा सगुन पनि सामूहिक रूपमा खेलिने वा गाइने गरिन्छ । जसले सामाजिक आत्मीयता बढाउँछ । वर्षभरि तीतामीठा जे भए पनि गौरा पर्वमा सबैलाई बिर्साइदिन्छ । नयाँ ताजा सम्बन्ध जोडिदिन्छ । जसले एकताको सन्देश दिन्छ । गौराले आपसमा रहेका तिक्तालाई पनि हटाइदिन्छ ।  

वर्ष खान नपाउनेहरू पनि गौरामा मिठो खान्छन् । वर्षभरि फाटेका लुगा लगाउनहरू पनि एक जोर नयाँ लुगा लगाउँछन् । जसले समाजमा सबै समान भएको देखाउँछ । अर्को महत्वपूर्ण कुरा यदि गाउँमा कुनै मानिस मरेमा त्यो वर्ष गौरा ल्याइँदैन् । त्यो वर्ष सबैले दुःख साटासाट गर्दछन् । यसले गाउँलेमा भएको आत्मीयतालाई झल्काउँछ । एकको दुःख सबैको दुःख हो । दुःख र सुख सबै बराबर साटासाट गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दछ ।

यसबाट के पुष्टि हुन्छ भने गौरा पर्व सामाजिक एकता तथा सद्भावको पर्व हो । यसले समाजलाई एकताको सूत्रमा बाँधेको छ । संस्कृति, भाषा चलनको संरक्षणसँगै सामाजिक सद्भाव पनि कायम राखेको छ । समग्रमा, गौरा पर्वले सामाजिक एकता, पारिवारिक मिलन तथा भाषा संस्कृतिको संरक्षणका लागि अतुलनीय योगदान पु¥याएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार