सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने

मंगलबार, ०८ माघ २०८१
उदयपुर : गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रूपमा रोक्न मित्रराष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलवार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन् । ‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ’, गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भएपनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो । गृहमन्त्री लेखकले बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरे । तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री लेखकले बताए । उनीसँगै नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं. १ का सांसद डा. नारायण खड्कालेसमेत कटान क्षेत्रको अनुगमन गरेका थिए । बर्सेनि सप्तकोशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ । कटानका कारण यहाँ सयौँ परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए । ‘तत्काल उच्च जोखिम रहेको तीन किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायी रूपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौँ’, उनले भने । लेखकले आजै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रियुगा नदीको कटान क्षेत्रको अनुगमन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार