लेखा समिति सभापतिका पूर्वस्वकीयको अनुसन्धान सकियो, प्रहरीले मिसिल बुझायो सरकारी वकिल कार्यालयमा

बुधबार, ०९ माघ २०८१
विराटनगर : संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलमाथि गरेको अनुसन्धानको मिसिल (अनुसन्धान प्रतिवेदन) मोरङ प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अनिल पक्राउ परेको १२ दिनमै अनुसन्धान सकेर मिसिल बुझाएको हो । अनिलविरुद्ध ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन मंगलबार वकिल कार्यालय मोरङमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘अनुसन्धानका क्रममा दुवै पक्षसँग कुरा बुझियो । अनुसन्धान सकिएपछि ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । थप प्रक्रिया उतैबाट अघि बढ्छ,’ उनले भने । अनिलविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको थियो । पुस २५ गते पक्राउ परेका उनीमाथि प्रहरीले अरु मुद्दाको भन्दा चाँडै अनुसन्धान सकेको हो । प्रहरीले बुझाएको मिसिलको अध्ययन भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले तयार पारेको मिसिल अध्ययन गरी अभियोगपत्र तयार पार्दै सरकारी वकिल कार्यालयले अनिललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता गर्ने छ । मोरङको रंगेली नगरपालिका २ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप उनीमाथि लागेको छ । एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वानस दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै उनी अनिलसँग पुगे । उल्टै आफूसँग जबरजस्ती ५० लाख रूपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालको दाबी छ । बौआलालले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले दर्ता गर्न मानेन । हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । ठगीमा मुछिएका अनिललाई ऋषिकेशले स्वकीय सचिवबाट यसअघि नै हटाइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार