विराटनगर : प्रहरी सेवामा कमजोर पहुँच भएका, जोखिममा परेका र अल्पसंख्यक समुदायलाई प्रहरीले मोरङको रंगेली नगरपालिका–२ मा न्यानो कपडा वितरण गरेको छ ।
केही दिनयताको शीतलहरले जनजीवन प्रभावित भइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली मंगलबारे टोल विकास समितिको सक्रियतामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार रंगेली–२ स्थित महेन्द्र माध्यमिक विद्यालय परिसरमा शुक्रबार कपडा वितरण गरिएको हो ।
चिसोको समयमा आर्थिक अवस्था कमजोर भएर कपडा किन्न नसकेकाहरुले प्रहरीको सहयोगबाट केही राहत महसुस गरेका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियालगायतले कपडा वितरण गरेका हुन् ।
न्यानो कपडा वितरण कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विद्यालय शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सहभागी थिए । डीएसपी जोशीका अनुसार ७० थान कम्बल वितरण गरिएको हो ।
उक्त कम्बल गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष एवं जगदीश अग्रवालले सहयोग गरेका थिए । अन्य ठाउँमा चिसोका कारण पीडित बनेकाहरुलाई समेत न्यानो कपडा उपलब्ध गराउने योजना रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया