विराटनगर : आकर्षक कमाइको लोभ देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पीडितले दिएको जाहेरीका एक गिरोहलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय रहेका छन् ।
एउटै परिवारका बाबु–छोरालाई विदेश पठाउने भनेर ६६ लाख बढी ठगेकोबारे प्रहरीमा जाहेरी परेको थियो ।
उक्त गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर युरोप, अमेरिका, कुबेत, दुबईसमेतका देश पठाउने भन्दै रकम ठगी गर्ने गरेको पाइएको डीएसपी जोशीले जानकारी दिए ।
विराटनगर–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानडा पठाइदिने भनेर विभिन्न समयमा अनलाइनमार्फत ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । विदेशी मोबाइल नम्बरबाट खोलिएको वाट्सएप प्रयोग गरी ठगी गरेको जोशीले बताए ।
भिसाका लागि भनेर आवश्यक कागजातसमेत पठाएर भ्रम एवं प्रलोभनमा पारी रकम ठगेको प्रहरीको भनाइ छ । रकम पठाउन विभिन्न व्यक्तिहरुको बैंक खाता प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको डीएसपी जोशीले बताए ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार पक्राउ परेकामध्ये ठगीमा भारतीय नागरिक केशव यादवको विशेष संलग्नता छ । उनी ठगीका मुख्य योजनाकार हुन् ।
यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरूलाई ई–सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरू खोल्न लगाएको चिमरियाले बताए ।
‘डिजिटल वालेट’ तथा बैंक खाताको ‘युजर एक्सेस’ र ‘पासवर्ड’ लिएर यादव आफूले कारोबार गर्ने गरेको उनले बताए । उनका अनुसार पक्राउ परेका अरू ४ जना नेपाली युवाहरू यादवले ठगीमा प्रयोग गरेका व्यक्तिहरू हुन् ।
‘पछिल्लो समय सामाजिक सञ्जालमार्फत ठगी गर्ने क्रम बढेको छ । प्रविधिको प्रयोग गरेर ठगिएका उजुरीहरू प्रहरीमा आउने क्रम बढ्दो छ । यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता आफैं सचेत हुनुपर्छ । पछुताउनु र दुःख पाउनुभन्दा बेलैमा सावधानी अपनाउँदा ठगी वा कुनै समस्यामा पर्ने सम्भावना हुँदैन,’ एसपी चिमरियाले भने ।
प्रतिक्रिया