विराटनगर : सरकारले आफू अनुकुल व्याख्या गर्न सक्ने भाषामा लेखिएको तथा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउनेगरी जनताको बोल्न पाउने अधिकारमा हनन गर्न खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ ।
शुक्रबार सामाजिक सञ्जाल विधेयकको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको हो । विराटनगर नागरिक अभियानले विराटनगरको ट्राफिक चोकमा सांकेतिक विरोध प्रदर्शन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेको “सामाजिक संजालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” ले वाक स्वतन्त्रताको साथै मानवअधिकार र लोकतान्त्रीक मूल्य र मान्यतामा असर पुर्याउने भन्दै यो प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका संयोजक अभियन्ता वसन्त अधिकारीका अनुसार कार्यक्रमले सरकारद्वारा प्रस्तावित विधेयकका विवादास्पद प्रावधानहरूमाथि सार्वजनिक ध्यानाकर्षण गराउने उद्देश्यले यो प्रदर्शन गरिएको हो ।
प्रस्तावित विधेयकले नागरिकहरूको सूचना र अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउने खतरा रहेको अभियन्ताहरुको भनाइ छ ।
विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको अधिकार खोसेर लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै युवाहरूले विरोध जनाएका थिए ।
अभियानका संयोजक अधिकारीले बोलेकै, लेखेकै वा अरु कसैको पोस्ट पनि लाईक वा सेयर गरेकै भरमा कसैलाई थुनछेक वा कारबाही गर्ने कानुन ल्याउन नहुने बताए ।
सामाजिक सञ्जाललाई नियन्त्रण होइन, नियमन गर्न आवश्यक रहेकाले त्यतातिर ध्यान दिन उनले सरकारलाई सुझाव दिए ।
उनले भने, ‘सरकारविरूद्ध कसैले नबोलुन् भनेर सरकारले फौजदारी कानुनको नाममा जनतालाई तर्साउन खोजेको छ।’
प्रतिक्रिया