विराटनगरमा दुर्घटना हुँदा महिलाको मृत्यु, २ जना घाइते

शनिबार, २६ माघ २०८१
विराटनगर । विराटनगरमा शनिबार दिउँसो दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१० सोमबारे चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । दुर्घटनास्थल कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब ३० मिटर दक्षिणमा पर्छ । इन्स्पेक्टर लम्सालका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटरलाई दिउँसो १ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको उनले बताए । मृतक राजवंशी जहदाको भए पनि उनी बस्ने वडा खुलेको छैन । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाईलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का अन्दाजी १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएको लम्सालले बताए । घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर छ । दुवै जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन पूर्णरूपले क्षतिग्रस्त बनेको जानकारी इन्स्पेक्टर लम्सालले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार