निर्मलराज पौडेल
नेपालको विज्ञापन उद्योगले विगतका दशकहरूमा ठूलो रूपान्तरणको अनुभव गरेको छ। प्रविधिको विकास, डिजिटल मार्केटिङको उदय र ग्राहकहरूको बदलिँदो अपेक्षाले उद्योगलाई लगातार परिष्कृत गरिरहेको छ। यतिबेला कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले यस उद्योगमा धेरै सम्भावना मात्र होइन, महत्वपूर्ण चुनौतीहरू पनि निम्त्याएको छ।
एआईले विज्ञापन सामग्री निर्माण, डेटा विश्लेषण र लक्षित मार्केटिङको प्रक्रियालाई स्वचालित बनाउँदैछ। यसले सँगसँगै सिर्जनात्मक डिजाइन, सामग्री लेखन र बजारसम्बन्धी योजना जस्ता क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई विस्थापन गर्ने सम्भावना पनि बढाएको छ।
एआई टुल्स, जस्तै– च्याटजिपिटी, मिडजोर्नी र अन्य ग्राफिक डिजाइन प्लेटफर्महरूले सिर्जनात्मक कार्यहरू (जस्तै–क्याम्पेनको विचार विकास र ग्राफिक डिजाइन) लाई धेरै छिटोछरितो र सस्तो बनाएका छन्।
यद्यपि परम्परागत विज्ञापन निर्माण प्रक्रियामा प्रयोग हुने दक्ष जनशक्तिको ज्ञान र सिप अब एआई प्रविधिको आगमनसँगै अप्रासांगिक हुन सक्ने जोखिम पनि बढेको छ।
लामो समयदेखि तिनै काममा निपुणता हासिल गरेका जनशक्तिको माग बजारमा कम हुँदा त्यसले नेपाली विज्ञापन क्षेत्रमा सिर्जनात्मकता र मौलिकतामा कमी ल्याउनुका साथै सामाजिक तथा सांस्कृतिक समस्यासमेत निम्त्याउन सक्ने सम्भावना छ।
एआईको विश्वव्यापी प्रकृतिका कारण स्थानीय संस्कार, भाषा र संवेदनशीलतालाई समेट्न कठिनाइ हुन सक्छ। यो कमजोरीलाई सम्बोधन गर्न विज्ञापनकर्मीहरू अझै बढी सशक्त र सचेत हुनुपर्ने देखिन्छ। एआईले छिटो, सस्तो र गुणस्तरीय सेवा दिन्छ भन्ने दुनियाँलाई लागेको छ। उक्त आशाले विज्ञापन एजेन्सीहरूलाई थप दबाबमा पार्न सक्छ।
विशेषगरी नेपालका साना तथा मझौला स्थानीय एजेन्सीहरूलाई एआईले निकै असर पार्ने देखिन्छ। एआईले विज्ञापन बनाउनलाई सहज बनाइदिएपछि यो क्षेत्रमा प्रवेश गर्ने नयाँ प्रतिस्पर्धीहरूको संख्या पनि बढ्न सक्छ। यसले अनुभवी जनशक्तिलाई थप दबाबमा पार्न सक्छ। विज्ञापनको गुणस्तर मापनको मापदण्ड पनि फेरिन सक्छ।
एआई उपकरणको अर्काे सीमितता के हो भने यसले नेपाल जस्ता बहुसांस्कृतिक समाजका स्थानीय सन्दर्भ, भाषिक विविधता र सांस्कृतिक संवेदनशीलतालाई बुझ्न सक्दैन। यसले विज्ञापन बनाउने प्रक्रियामा थप मेहनतको आवश्यकता पर्न सक्छ। एआईको प्रयोगले विज्ञापनकर्मीहरूको अनुभव र सिपको महत्वमा ह्रास ल्याउन सक्छ।
अनुभवी व्यक्तिहरूलाई पनि नयाँ प्रविधिहरूसँग अद्यावधिक हुन चुनौतीपूर्ण हुन सक्छ। एआईको सहयोगबाट उत्पादित सामग्रीले प्रतिलिपि अधिकारको उल्लङ्घन मात्र गर्दैन। यसले गलत जानकारीको प्रचार वा असंवेदनशीलता उत्पन्न गर्न सक्ने जोखिम पनि उत्तिकै रहन्छ। यसले विज्ञापन उद्योगको प्रतिष्ठामा नराम्रो असर गर्न सक्छ।
एआईको व्यापक उपयोगले मानवीय सम्पर्क र विज्ञापनमार्फत प्रदान गरिने भावनात्मक अनुभवलाई कमजोर बनाउन सक्छ। एआईको अत्यधिक प्रयोगले मानव सिर्जनशीलतालाई समेत हतोत्साहित गर्न सक्छ। विज्ञापनकर्मीहरूले एआईको सहायतामा मात्र काम गर्न थालेमा दीर्घकालीनरूपमा व्यक्तित्वपूर्ण र मौलिक सिर्जनाहरू हराउन सक्छन्।
मानिसले आफ्ना सिर्जनात्मक क्षमता प्रयोग गर्न छोड्न सक्छन्। लामो समयसम्म यसरी सिर्जनात्मकता हराउँदै जाँदा नेपाली विज्ञापन क्षेत्रको मौलिकता गुम्ने भय रहन्छ। हाम्रो पहिचान नै धरापमा पर्ने सम्भावना हुन्छ। त्यसकारण भोलिका दिनमा कृति अवार्ड जस्ता विज्ञापन क्षेत्रको विकास र उत्प्रेरणका लागि हुने महत्वपूर्ण कार्यक्रमहरूको महत्व कम हुन सक्छ।
विज्ञापनकर्मीहरूले नयाँ एआई टुलमा दक्षता राख्दै विज्ञापन क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउन पनि नेपाल जस्तो मुलुकमा सहज अवस्था छैन।
एआईले स्थानीय सन्दर्भहरूलाई पर्याप्त सम्बोधन नगरेको अवस्थामा विज्ञापनकर्मीहरूले स्थानीय ज्ञान र अनुभवको उपयोग गर्नुपर्छ। यसले कामलाई दोहोर्याएर गर्नुपर्ने बाध्यता सिर्जना गर्छ र बढी समय खपत गराउँछ।
एआईको प्रयोगलाई केवल लागत घटाउने माध्यमका रूपमा हेर्दा दीर्घकालीन सिर्जनात्मकता र प्रभावकारितामा समस्या सिर्जना हुन थालेको छ। हरेक व्यक्तिले प्रविधिमा पहुँच राख्ने क्रम बढिरहेको अवस्थामा वास्तविक विज्ञापनहरू विज्ञापनकै भीडमा हराउने जोखिम पनि देखिन्छ।
एआईका कारण नेपालको विज्ञापन क्षेत्रले सिर्जनात्मकता, प्रविधि र व्यावसायिक दृष्टिकोणलाई पुनः परिभाषित गर्ने अवसर त पाएको छ तर के त्यो अवसर नेपालको संस्कृति तथा नेपालीपनसँग नजिक छ? यो सोचनीय विषय हो। विज्ञापनकर्मीहरूले समयानुकूल नयाँ सिपहरू अपनाउँदै एआर्ईसँग सहकार्य गरेर र स्थानीय सन्दर्भलाई सधैँ प्राथमिकतामा राख्दै काम गर्ने सम्भावना नेपालमा न्यून नै छ।
दीर्घकालीन दृष्टिकोण र विवेकपूर्ण कार्यदिशाले एआईलाई सकारात्मक दिशामा डोर्याउन सहयोग गर्ला तर के हामी यति छिटो परिर्वतन भइरहेको एआई उपकरणहरूका बारेमा दूरदर्शी छौँ? पक्कै पनि हामी यस विषयमा धेरै जानकार छैनौँ। यस्तोमा कसरी दीर्घकालीन दृष्टिकोण र विवेकपूर्ण कार्यदिशा निर्माण हुन सक्छ ? के राज्य यसका लागि तयार छ ? पक्कै पनि छैन।
भएको एउटा विज्ञापन बोर्डलाई समेत राजनीतिक भर्ती केन्द्र बनाउने राज्यले यस्ता विषयमा गलितो मार्गनिर्देश गर्ला भनेर आश गरिहाल्ने अवस्था छैन। तर एआई प्रविधिको तीव्र विकासले विज्ञापन क्षेत्रमा प्रत्यक्ष असर गर्न थालिसकेको छ। तर दुःखको कुरा यससम्बन्धी कुनै उचित ऐननियम हामीसँग छैन। राज्यले एआईको प्रयोगले शक्तिमा रहेका मान्छेलाई समस्या नपारोस् भन्नका लागि आफ्नो फाइदा सोचेर केही टिपोट गरेको छ। त्यसले एआईको विराटतालाई कुनै पनि हालतमा सम्बोधन गर्दैन।
अझ विज्ञापन क्षेत्रलाई पटक्कै पनि सम्बोधन गर्दैन। त्यसकारण विज्ञापन एजेन्सीहरू आफ्नै पहलमा चाँडोभन्दा चाँडो विज्ञापनमा एआईको प्रयोगसम्बन्धी स्पष्ट नैतिक मान्यता निर्माण गरिहाल्नु आवश्यक छ।
अन्यथा साना र माध्यम किसिममा एजेन्सीहरूलाई ठूला र माल्टिनेसनल एजेन्सीहरूले निकै पछि पार्नेछन्। त्यसले नेपालको स्थानीय उत्पादन र बजारलाई निकै नकारात्मक असर पार्नेछ।
एआईलाई एक पूरक उपकरणका रूपमा मात्र प्रयोग गरिनुपर्छ, त्यसमा कुनै विवाद छैन। तर नेपाली विज्ञापनमा स्थानीय ज्ञान, भाषा र संस्कृति मिसिएको हुनुपर्छ। यो एआईले गर्न नसक्ने काम हो। मानवजनित भावनात्मक र सांस्कृतिक पक्षले विज्ञापनमा प्राण भर्ने काम गर्दछन्। प्राण नै नभएको विज्ञापनले बजारमा प्रभाव पो कति पार्ला? यो सोचनीय विषय हो।
एआईले कामलाई स्वचालित बनाउँदा मानिसमा ‘म आवश्यक छैन’ भन्ने भावना विकास हुन सक्छ। विशेषगरी लामो समयदेखि यो क्षेत्रमा योगदान दिएका व्यक्ति आफ्नो क्षमतामाथि शंका गर्न थाल्न सक्छन्।
परम्परागत विज्ञापन प्रक्रियामा दशकौँको अनुभव भएका विज्ञापनकर्मीहरूले आफ्नो सिपलाई अप्रासांगिक ठान्न थाल्न सक्छन्। एआईले कामको गति बढाए पनि यसले दीर्घकालीनरूपमा विज्ञापनकर्मीहरूको रोजगारी सुरक्षित रहने सुनिश्चित गर्दैन।
विज्ञापन उत्पादन कार्यमा ग्राहक र सिर्जनात्मक टोलीबीचको परस्पर अन्तरक्रिया हुनुपर्छ। तर एआईको प्रयोगले यो सम्बन्धलाई मेसिनद्वारा प्रतिस्थापन गर्ने प्रयास गर्दा भावनात्मक सम्बन्ध कमजोर बन्न जान्छ। नेपाली समाज भावनात्मकताविनाको सिर्जनालाई धेरै नजिक राख्न मन गर्दैन। यस्तोमा यो प्रणालीलाई कमसेकम नेपालको हकमा भने पूर्ण विश्वास गर्न सकिँदैन। यसको प्रयोगले नैतिक मूल्यमान्यता र मर्यादामा ठेस मात्र लाग्नेछ।
कुनै पनि प्रविधि नवप्रवर्तन हो। त्यो बाधा होइन भन्ने कुरामा दुई मत छैन तर एआईले नेपाली विज्ञापन क्षेत्रलाई अवसरभन्दा बढी चुनौती दिएको छ। विज्ञापन केवल उपकरण र प्रविधिमा निर्भर हुँदैन।
यसले मानिसको सोच, सिर्जनशीलता र सांस्कृतिक बोधको समेत मार्ग प्रदान गर्छ। यदि यी तत्वहरूलाई प्रविधिसँग गाँस्न सकिएन भने विज्ञापन उद्योगको भविष्य र आत्मा गुम्ने दिन आउँदैन भन्न सकिँदैन।
प्रतिक्रिया