विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्ने ‘प्रथम कोशी खेल महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ ।
बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीहरूको व्यक्तित्व विकासका खेल प्रवद्दन गर्ने उद्देश्यले पहिलोपटक खेल महोत्सव आयोजना गर्न लागिएको बताए ।
उनकाअनुसार महोत्सवअन्तर्गत विभिन्न खेलुकद प्रतियोगिता प्रदेश राजधानी विराटनगर र झापामा हुनेछन् ।
उनका अनुसार फागुन १३ देखि १८ गतेससम्म महोत्सव सञ्चालन हुने छ । बोर्डका अध्यक्ष एवं प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले खेल जगतको प्रवर्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
उनले भने, ‘खेल र खेलाडीहरूको प्रवद्दन र व्यक्तित्व विकासका लागि हाम्रो पहिलो प्रयास हो । यसको उद्देश्य नै खेल जगतको विकास गर्नु हो । सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।’
महोत्सवले १० औं राष्ट्रिय खेलकुदको तयारीलाई सहयोग पुग्ने मन्त्री राईको भनाइ छ । महोत्सवमा छुटेका केही खेलहरुलाई खेलकुदका अन्य कार्यक्रममार्फत समावेश गरिने उनले बताए ।
‘कोशी प्रदेश खेलकुद महोत्सव, २०८१ ले प्रदेशलाई स्थापित गर्दै खेल पर्यटनको विकासमा सहयोग गर्छ । प्रदेश राजधानी खेलकुदको ‘हब’ हो भनेर सन्देश दिन्छ,’ बोर्डका सदस्यसचिव बस्नेतले भने ।
खेल महोत्सव आयोजना गर्न सबै पक्षको सहयोग प्राप्त भएको उनको भनाइ छ ।
उनका अनुसार १० औं राष्ट्रिय खेलकुदमा खेलाडीले बढीभन्दा बढी पदक जित्न सकुन् भनेर राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा खेलकुद महोत्सव गर्न लागिएको हो ।
बोर्ड सधैं खेलाडीको पक्षमा रहेको बताउँदै उनले खेलाडीले धेरैभन्दा धेरै पदक जितेमा प्रदेशकै नाम र इज्जत रहने उल्लेख गरे । ‘खेल गति नै खेलाडीको प्रगति हो’ भन्ने उद्देश्यका साथ खेलकुदको विकास गर्नुपर्ने पक्षमा बोर्ड रहेको उनको भनाइ छ ।
खेलकुदमा अरुभन्दा अब्बल र उत्कृष्ट प्रदेश कोशीलाई बनाउनेतर्फ बोर्ड अग्रसर रहेको बस्नेतको भनाइ छ । खेलकुदको माध्यमबाट सामाजिक सद्भाव कायम गराउन सक्नुपर्नेमा सदस्यसचिव बस्नेतको जोड छ ।
महोत्सवमा ११ वटा इभेन्टहरू एकै ठाउँमा गरेर एउटा नयाँ र सकारात्मक सन्देशका साथै एउटा नजिर स्थापित गर्न खोजिएको उनले बताए ।
महोत्सवलाई भव्य र सफल बनाउनका लागि हामीले प्रचारात्मक कामलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै सदस्यसचिव बस्नेतले भने, ‘प्रचारप्रसारबाट जनजनमा खेल र खेलकुद के हो भन्ने बुझाउनु छ । खेल क्षेत्रबाट बाहिर रहेका व्यक्ति पनि खेलप्रति आकर्षित रहुन् भन्ने उद्देश्य हो । पर्याप्त बजेट नहुँदा नहुँदै पनि नयाँ कामको थालनी गरेका हौं । अरु प्रदेशमा पनि सकारात्मक सन्देश दिनु छ ।’
उनका अनुसार खेल महोत्सवमा १ हजार जना बढी खेलाडीहरू प्रत्यक्ष रूपमा जोडिने छन् । विकसित मुलुकमा खेलाडीलाई उच्च सम्मान दिने गरिन्छ । तर, नेपालमा खेलाडी, खेलकर्मी र अफिसियलहरूले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
‘खेल गतिविधिले खेल र खेलाडीप्रति राम्रो नीति निर्माण गर्न महत्वपूर्ण योगदान दिन्छ । खेलाडीले आफ्नो बिजनेस र क्रियाशीलता देखाउन पाउँछन् । खेल क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाउन खोजिरहेका छौं,’ बस्नेतले भने । व्यवसायिक, शैक्षिक, साहित्यकलाजस्ता महोत्सव हुँदै आए पनि खेल महोत्सव भनेर कम नै हुने गरेको उनको भनाइ छ ।
कोशी प्रदेशले वार्षिक कार्यक्रममै राखेर अर्को वर्षदेखि आवश्यक बजेटसहितको दोस्रो खेल महोत्सव गर्ने सदस्यसचिव बस्नेतको भनाइ छ ।
सबैको ध्यान कोशी प्रदेशमा हुने गरी क्यालेन्डर र रातो किताबमै उल्लेख गरेर दोस्रो खेलकुद महोत्सवको तयारी गरिने उनले बताए ।
खेल महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्टटेनिस, कराँते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल, टेबलटेनिससमेतका खेल समावेश गरिएको बस्नेतले बताए ।
प्रतिक्रिया