विराटनगर : विराटनगरमा सञ्चालित गोल्डेन अस्पताल प्रा.लि. आज (आइतबार)बाट १४ वर्षमा प्रवेश गरेको छ ।
विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोकमा भाडाको घरमा अस्पताल सञ्चालन गरिएपनि हाल विराटनगर–११ जनपथमा एक सय शैयाको आफ्नै भवन रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत जियाउल हकले जानकारी दिए ।
‘सुरूमा भाडाको घरबाट सञ्चालित थियो । अहिले आफ्नै अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ । स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाइएको छ,’ उनले भने ।
हकका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) एकीकृत १९२–स्लाइसको सीटी स्क्यान, एमआरआई, मोडयुलर ओटी, एड्भान्स आईसीयू, एनआईसीयू, एचडीसीयूजस्ता अत्याधुनिक प्रविधि अस्पतालमा उपलब्ध छन् ।
१४ औं वार्षिकोत्सवको अवसरमा अस्पतालका सञ्चालक एवं वरिष्ठ चिकित्सक डा. श्यामकुमार रौनियारले अस्पतालले १४ वर्षको अवधिमा धेरै उतारचढाव झेल्नु परेको सुनाए ।
‘हाम्रो प्रमुख उद्देश्य मेडिकल कलेजभन्दा किफायती दरमा आमनागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीसँग नेपालकै सबैभन्दा उत्कृष्ट ‘सुपर स्पेसियालिटी’ टिम, सर्वश्रेष्ठ ट्रमा, न्युरो तथा आरटीए म्यानेजमेन्ट टिम, उपलब्ध छन्,’ उनले भने ।
डा. रौनियारका अनुसार १३ वर्षदेखि निरन्तर र पूर्वमै पहिलो मिर्गौला रोग विशेषज्ञसहितको सेवा अस्पतालले दिएको छ । अस्पतालको सेवा नेपालीहरूमा मात्रै सीमित छैन ।
छिमेकी भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगाललगायतका बिरामीको पनि पहिलो रोजाइमा पर्ने उनले बताए । उपचारमा आउनेमध्ये भारतका करिब ४० प्रतिशत हुने गरेका छन् ।
अस्पतालले आफ्ना सेवाहरूलाई निरन्तर सुधार गर्दै चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र अत्याधुनिक प्रविधिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको डा। रौनियारको भनाइ छ ।
उनका अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन लिएर गत मंसिर २१ गतेबाट कलेज सञ्चालन गरी डिप्लोमा इन फार्मेसी, पसीएल नर्सिङ र पीसीएल जनरल मेडिसिन कार्यक्रम सुरु गरिएको छ ।
अस्पतालले अझै सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउँदै डा. रौनियारले आगामी वर्षबाट क्याथ ल्याब र आईभीएफ सेवा उपलब्ध गराइने बताए । ‘क्याथ ल्याब सेवा सञ्चालन गरी मुटु रोगीका लागि अझ सुलभ उपचार तथा आईभीएफ सेवा सुरु गरी निःसन्तान दम्पतीलाई अभिभावक बन्ने सपना साकार पार्ने योजना छ,’ उनले भने ।
उनले थप विश्वस्तरीय, गुणस्तरीय र नवीनतम सेवा दिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया