इलाम : आइतबार दिउँसोदेखि अवरुद्द मेची राजमार्ग खुलेको छ । सवारी दुर्घटनामा मृत्यु भएका बाबु–छोराको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
इलामको कन्याम छेउ हर्कटेमा टिपरको ठक्करबाट मृत्यु भएका बुबा छोराको परिवारलाई राहत उपलब्ध गराउने सहमतीपछि दिउँसोदेखि अवरुद्द मेची राजमार्ग साँझदेखि सञ्चालनमा आएको हो ।
मेची राजमार्गको रोङ गाउँपालिका–३, हासपोखरीमा भएको दुर्घटनामा टिपरको ठक्करबाट बाबु–छोराले ज्यान गुमाउनुपरेपछि मृतकका आफन्त तथा आफन्तले मेची राजमार्गको हर्कटे र कन्याम क्षेत्रमा यातायात अवरुद्द गराएका थिए ।
उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिने टिपरले क्षतिपूर्ति नदिउञ्जेल अस्पतालबाट शव नउठाउने अडानसमेत राखेका थिए ।
पशुपतिनगर इलाका प्रहरी कार्यालयमा भएको छलफलमा टिपर व्यवसायीले पीडित परिवारले राखेको माग (क्षतिपूर्ति)पूरा गर्ने सहमति जनाएपछि राजमार्ग बन्द खुलाइएको पीडित परिवारका सदस्य दीपक राईले जानकारी दिए ।
उनका अनुसार क्षतिपूर्ति दिने सहमति भएपछि शव उठाउन परिवारका सदस्य झापाको बीएन्डसी अस्पताल गएका छन् ।
शुक्रबार साँझ टिपरले ठक्कर दिँदा मेची राजमार्गको रोङ गाउँपालिका–३, हासपोखरीमा मोटरसाइकलमा सवार सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको थियो ।
झापाबाट घर फर्किंदै गर्दा दीर्घराजले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो ।
प्रतिक्रिया