भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

मंगलबार, १३ फागुन २०८१
भोजपुर : भौगोलिक रूपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिब तीन सय घरपरिवार लाभान्वित बनेका छन् । लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए । स्थानीयवासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए । “लुङ्थुङ भौगोलिक रुपमा विकट र निकै ठूलो भूगोल छ”, वडाध्यक्ष विष्टले भने, “यहाँ स्वास्थ्य संस्था नहुँदा सामन्य स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । नागरिकले भोगेको सास्तीलाई ध्यानमा राखेर स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गरेका हौँ ।” गाउँ नै स्वास्थ्य एकाइ स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा स्वास्थ्य एकाई स्थापनाले सहजता भएको स्थानीयवासी तीर्थाकुमारी राईले बताइन् । “गाउँ नै स्वास्थ्य एकाइ स्थापनाले सहजता थपिएको छ,” उनले भने, “हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । यहाँ नै सेवा लिन पाउँदा खुसी लागेको छ । बीच गाउँमा नै स्वास्थ्य संस्था स्थापना भएपछि सेवा लिन सहज छ ।” स्वास्थ्य एकाई स्थापनाले बिरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टौँ धाउनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताए । स्वास्थ्य एकाइ स्थापनाले वर्र्षौंदेखि स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उनको भनाइ छ । “नजिकमा स्वास्थ्य संस्था नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका थियौँ,” उनले भने, “अहिले गाउँमा नै स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अब सामान्य बिरामी हुँदा घण्टौँ लगाएर अन्यत्र जानुपर्ने समस्या हटेको छ ।” नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ । खैराङका साविकका वडा २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रवाह थालिउको अध्यक्ष राईले बताए । यहाँको सामुदायिक भवनबाट स्वास्थ्य सेवा प्रवाह थालिएको अध्यक्ष राईले जानकारी दिए । “गाउँपालिकाले नागरिकलाई दिने सेवालाई सहज र सरल बनाउने अभियान जुटेका छौँ”, अध्यक्ष राईले भने, “भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन समस्या छ । त्यस्ता ठाउँमा पनि सहज सेवा पु¥याउने काम गरिरहेका छौँ ।” गाउँपालिकाले स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधारलगायतको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ । निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार यहाँ स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन ल्याइएको अध्यक्ष राईको भनाइ छ । हतुवागढी गाउँपालिकामा एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्यचौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य एकाइमार्फत सेवा प्रवाह भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार